आवधिक निर्वाचनले लोकतन्त्रमा निखार ल्याउँछ भनिन्छ । हाम्रा लोकतन्त्र प्राप्ति पश्चात यस्ता निर्वाचनले विकृति र विसंगति मात्र थप्दै गयो । लोकतान्त्रिक प्रणालीका कमजोर पात्रले गर्दा नेपाली लोकतन्त्रको रसास्वादन दलका नेताहरू र सीमित कार्यकर्ताले मात्र गरेको आलोचना भइरहेको छ । जनता अत्यन्त सचेत देखिए । सबै दललाई पटक पटक साँच्चिने अवसर दिए । आफंैले संघर्ष गरी ल्याएको लोकतन्त्रलाई सक्किन नदिन धेरै प्रयास गरे । सबै दललाई अब अरू दलबाट निराश भएकाले आशा र भरोसा पृथक दललाई पालैपालो गर्न पुगे । तर, दलहरू सच्चिएनन् । २०४६ सालबाट धेरैपटक नेपाली कांग्रेसलाई अवसर दिए । एमालेले २०५१ साल र २०७४ सालमा ठूलो विश्वास जनताबाट प्राप्त ग¥यो ।
२०६४ सालमा माओवादी दललाई द्वन्द्वका समयमा दिएका नाराहरू र १७ हजार नेपालीको इहलिला समाप्त पार्ने वातावरण निर्माण गरेकामा त्यसको उपादेयता प्रमाणित गर्न अवसर प्रदान गरे । तर, कुनै पनि दलले आफूलाई जनताले गरेका विश्वासअनुसार जवाफदेहिता निर्वाह गर्न सकेनन् । संसदीय लोकतन्त्रको प्राणवायु वा जीवनरेखा भनेकै राजनीतिक दलहरू हुन् । दलीय व्यवस्थाका आधारमा लोकतन्त्रको संस्थागत विकास भएको देख्ने उत्कृष्ट अभिलाषा जनताले राखे । तर, अपेक्षित परिणाम प्राप्त गर्न सकेनन् । लोकतन्त्रको संस्थागत विकास गर्न तत्पररहेका जनताले अब विकल्पका रूपमा अन्य विश्वसनीय राजनीतिक शक्तिको परीक्षा लिन खोजेका छन् । दलहरू सच्चिन नसक्दा यस निर्वाचनले केही स्पष्ट मतादेश र सन्देश नेपालका राजनीतिज्ञलाई प्रवाह गरेको छ ।
यस्तो छ मतादेश र सन्देश
शासकीय शैलीबाट आजित नेपाली मतदाताले यस निर्वाचनमार्फत केही स्पष्ट मतादेश दिएका छन् । नेपालमा अब नातावाद, कृपावाद, परिवारवाद, दलवाद, समूहवाद सबै अस्वीकृत भएका छन् । दलहरूले श्रीमान श्रीमतीलगायत आप्mना केटी साथीहरूसहित संसद छिर्न चाहदा निर्वाचन परिणामले यस्ता घटिया राजनीतिलाई अस्वीकृत गरिदिएको छ । आप्mनो राजनीति समाप्त गर्नेहरूले मात्र यस प्रवृत्तिलाई निरन्तरता दिनेछन् । जनतालाई आप्mनै पेवा सोचेर अभिमान पाल्नेहरू अब जनताले पाखा लगाउनेछन् । केही अपवादलाई छाडेर धेरै जना जनतालाई आप्mनै इसारामा नचाउने दिवास्वप्न पाल्नेहरूले पराजित हुनुपरेको छ । सत्तालोलुपहरूलाई अब साना साना दलसँग मिली रोइलो गरेर सत्तामा पुग्न सक्ने अवस्था बनेको छ ।
यी ठूला दललाई साना साना दलको निर्देशनअनुसार कार्य गर्नुपर्ने स्थिति छ । अनुभवबिहीन युवाहरू यदि पथभ्रष्ट बनेमा उनीहरू छिट्टै राजनीतिक परिवेशबाट पलायन हुनेछन् । लोकतन्त्रको आफूअनुकूल व्याख्या गर्दै धज्जी उडाउनेलाई हरेक राजनीतिक मोडमा ऊर्जाशील युवासँग मुकाबिला गर्नुपर्ने अवस्था छ । अल्पमतमा रहेका युवाहरूसँग सहकार्य र समझदारी गरेर राजनीति अघि बढाउन दिशानिर्देश भएको छ । दलका नेता र तीनका स्वार्थलोलुप झुन्डको भड्किलो व्यवहार देश होइन । नेताको देवत्वकरण गर्दै स्वार्थ सिद्ध गर्ने र सीमित केही गुणस्तरहीन समूहको समर्थन र देवत्वकरणबाट आत्मरतिमा मुग्धहुन छाडी वास्तविक धरातलमा आधारित भएर राजनीति जनताका सर्वतोमुखी भलाइमा केन्द्रित गर्नु जरुरी छ । राष्ट्रिय स्वार्थलाई परित्याग गरी समूहगत स्वार्थमा लिप्त हुँदा देशले भोगिरहेको पीडालाई स्मरण गर्दै सबै दलहरू र राजनीतिज्ञ राष्ट्रिय स्वार्थका सन्दर्भमा एकतावद्ध हुने संस्कारको विकास अत्यावश्यक छ ।
दलहरूले श्रीमान श्रीमतीलगायत आफ्ना केटीसाथीसहित संसद छिर्न चाहँदा निर्वाचन परिणामले यस्ता घटिया राजनीतिलाई अस्वीकृत गरिदिएको छ ।
अबको राजनीति बौद्धिक र ऊर्जाशील शक्तिलाई पलायन गराउने र यसैमा गौरव गर्ने मूर्खतालाई बदल्न प्रतिबद्ध हुनु समयको माग छ । खर्चिलो निर्वाचन र राजनीतिलाई व्यवसाय र लगानीका रूपमा ग्रहण नगर्न सचेत गराएको छ, किनकि अत्यन्त कम स्रोतसाधन भएका सत्पात्रले निर्वाचन जितेका छन् । अत्यन्त सम्मानजनक मत प्राप्त गरेका छन् । रकमकै बलमा राजनीति गर्ने प्रवृत्तिलाई बिस्तारै अस्वीकृत गर्ने परम्पराको थालनी भएको छ । भागबन्डाको राजनीतिले सर्वसाधारण जनताको हित गर्न सक्दैन । सीमित नेताको स्वार्थसिद्ध गर्ने माध्यम मात्र महŒवपूर्ण सार्वजनिक पदको भागबन्डा हुने गर्दछ । हालसम्म योग्य व्यक्तिलाई यस्ता पदमा आसीन गराउने गणितीय हिसाबमा मात्र सीमित हुने प्रवृत्तिले राजनीति अभ्यस्त छ । यसमा सुधार गर्नु नितान्त जरुरी छ । राजनीतिक अस्थिरताका कारक, पद, प्रतिष्ठा र स्रोतसाधनका सदाबहार भोका राजनीतिक पात्रको राजनीतिक हैसियतलाई मतदाताले संकुचित बनाई दिएकाले यस प्रकारका अभ्यस्ततालाई परित्याग गर्नु श्रेयस्कर हुनेछ ।
अपवित्र अप्राकृतिक गठबन्धनलाई परित्याग गर्ने शुभसल्लाह मतदाताको रहेको छ । स्वतन्त्र र स्वाभिमानी जनताले आफ्नो स्वविवेकमा निर्णय दिने गरेको स्पष्ट देखिएको छ । गठबन्धनका नेताले दिएको आदेशको अवहेलना सार्वभौम नागरिकले सहजै गरेका छन् । पटक पटक रोइलो गर्नुपर्ने अवस्थाबाट राजनीति गर्नेहरूमा सुधार अत्यावश्यक छ । राजनीतिमा चुनावी तालमेल र निर्वाचनपश्चात सरकार मिलिजुली बनाउने संस्कारलाई विश्वले आवश्यकतानुसार अवलम्बन गरिआएका छन् । राजनीतिक सिद्धान्त र आस्था अनुसारका चुनावी घोषणापत्रहरूलाई छनोट गरी मतदान गर्न मतदाताले पाउनुपर्छ । राजनीति त्याग र तपस्यासहितको राष्ट्रसेवा हो ।
लामो अग्निपरीक्षामा पारंगत भई सकेपश्चात् जनविश्वास आर्जन गर्न सकिन्छ । राजनीतिक यात्रा अत्यन्त अल्प अवधिको तय गरेका र जनतालाई आतंकित बनाएर राजनीतिक अस्तित्वमा आउनेहरू बोइलर कुखुरा जस्तै हुन्, चाडै हुर्किन्छन् र नासिन्छन् । अविरल राजनीतिक यात्रा गर्नेहरू जनताका नजरमा ओझेलमा पर्न सक्दछन् । त्यसैले हालका अस्तित्वमा आएका स्वतन्त्र दल र स्वतन्त्र उम्मेदवारलगायत अल्प अवधिमा प्राकृतिक तवरले जनताको मत छिन्न सफल हुने दलले जनताका पक्षमा त्याग र तपस्या गर्नसक्नु पर्दछ ।
घमण्ड असफलताको द्योतक हो । दुईतिहाइ नजिकको आरामदायी सरकार आप्mनै स्वभावका कारण गुमाउन पुगेका एमालेका सदाबहार कलाकाररुपी शीषर्थ नेताको घमण्ड चकनाचुर भएको छ । एमाले दल मतदाताको घेराबन्दीमा परेको देखियो । ठूला र शक्ति सम्पन्न मन्त्रालयहरू हाँक्ने केही मन्त्रीहरू, पूर्व प्रधानमन्त्री, राजनीतिक दलमा प्रभावशाली देखिएका अध्यक्ष, उपाध्यक्ष, महामन्त्री एवं पदाधिकारीहरू निर्वाचनमा जनताका निसानामा परे । जनतालाई आतंकित बनाउने दललाई सानो आकारमा सीमित गरिदिए । श्रीमती र श्रीमान संसद छिर्न खोज्ने, बुहारीलगायतका पारिवारिक सदस्यलाई सदैव शक्तिमा पु¥याउने दिवास्वप्न भंग भएको छ ।
देशभर पार्टी संगठन भएका, दलको सञ्जाल विस्तार गरेका, लाखांैलाख पूर्णकालीन सदस्य भएका दलका नेतालाई पाँच जना स्वतन्त्रले नराम्ररी थला पारिदिएका छन् । यी स्वतन्त्रहरू र स्वतन्त्र पार्टीका प्रतिस्पर्धीहरूलाई मतदाताले चिनेको अवस्था थिएन । प्रायः यी उम्मेदवार र यिनीहरूलाई टिकट दिने राष्ट्रिय स्वतन्त्र दलका अध्यक्षले समेत आप्mनै दलका उम्मेदवारलाई नचिनेको अवस्था छ । यसबाट शासकीय शैलीले कुन हदसम्म सरकारमा रहनेप्रतिको तीव्र वितृष्णा मतदातामा रहेको विषयलाई स्पस्ट पारेको छ । स्थानीय निर्वाचनमा ७१ प्रतिशत मतदान भएकोमा यस निर्वाचनमा ६१ प्रतिशत मात्र भएको छ । स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतलाई संसदीय निर्वाचनमा सुरक्षित राख्न सकेनन् । ३३ प्रतिशत महिला प्रतिनिधिसभामा हुनैपर्ने संवैधानिक प्रावधान रहेकोमा उम्मेदवार अत्यन्त थोरैलाई बनाइयो । प्रतिस्पर्धीहरू जम्मा आठ जना मात्र अथवा करिब पाँच प्रतिशत विजयी बनेका छन् । बाँकी संख्या समानुपातिकबाट पूर्ति गर्नुपर्ने अवस्था छ । यसबाट पनि दलले आगामी राजनीतिक यात्रा गम्भीरतापूर्वक गर्नुपर्ने अवस्था छ ।
यस निर्वाचनमा अस्तित्वमा रहेका मधेसी दलरुपी बोइलरलाई सीके राउतले नेतृत्व गरेको जनमत दलले विस्थापित गरिदिएको छ । मधेसी मागको सम्बोधन गराउने नाराका आधारमा निर्वाचनमा विजयी बन्नेहरू सत्तामा मात्र लुछाचुडी गर्ने र परिवारवादलाई हदैसम्म प्रश्रय दिई मधेसी जनताले उनीहरूमा समेत सच्चिन पर्ने दबाइ दिई मधेसीलाई आफ्नै पेवा ठान्नेहरूको लज्जास्पद पराजय मतदाताले गरिदिएका छन् । पुराना दलमा समेत युवाहरू मतदाताको छनोटमा परेका छन् । स्वतन्त्रहरूको अतिरिक्त राप्रपाले पनि आफ्नो अस्तित्व राष्ट्रिय राजनीतिमा कायम गर्न सफल भएको छ । यी दलका नारा आकर्षक भएकै कारण अस्थिर राजनीति गर्दै आएका अवसरवादी चरित्रका नवप्रवेसीहरू, अनुभवविहीनहरू, गैरजिम्मेवार अभिव्यक्ति दिँदै मतदाता आकर्षित गर्नेहरू केही विजयी भएका छन् ।
दलहरूबीच मतैक्यता गरी मेरिटका आधारमा सरकारी कार्यहरूको विरोध र समर्थन गर्न उच्च राजनीतिक संस्कारको प्रारम्भ गरिनुपर्छ ।
इतिहास हेर्दा यस दललाई मतदाताले सदैव संकार गरेका छन् । बदनाम महापञ्चलाई सर्वमान्य मान्दै अघि बढेको यस दलको राजनीतिलाई स्थापित गराउँदै लैजाने सन्दर्भ अत्यन्त कठिन छ । यस अर्थमा यस दलको राजनीतिक यात्रा लोप नहुने तर गति पनि लिन नसक्ने अवस्थाबाट गुज्रिने चर्चाहरू राजनीतिक पण्डितका बीच हुन थालेको छ ।
सारांश
संसद त्रिशंकु छ । राजनीतिक अस्थिरताले देशलाई फेरि त्रसित बनाएको छ । मध्यावधि निर्वाचनमा देश धकेलिने सम्भावनाको विश्लेषण सघन रूपमा हुँदै छ । यसो भएमा देशमा ठूलो भ्रष्टाचार निर्वाचनलाई लक्षित गरी हुने र राष्ट्रिय ढुकुटीको पटकपटक अपव्यय हुनेछ । हालसम्मका राजनीतिमा एकछत्र आधिपत्य जमाउनेहरू र नवआगन्तुक विशेषगरी युवाहरूको समिश्रण छ । घुम्ने मेचमा आसीन भई रजगज गर्ने, भागशान्ति गर्नेगरी दोहोरिएका पद सोपानक्रमलाई युवाशक्तिले चुनौती थपिदिएका छन् । राष्ट्रिय स्वतन्त्र दलले शान्तिपूर्ण क्रान्ति सफल हुने अवस्थाको स्मरण गराएको छ । वैकल्पिक राजनीतिक शक्तिको अनुभूति गराउने प्रयास रविन्द्र मिश्रदेखि बाबुरामसम्मले गराउन खोज्दा जनताले विश्वाश गर्न सकेनन् । बामनायकले पाँच वर्षसम्म गरेको नाटक मञ्चनबाट पनि मतदाताहरू आजित बनेका थिए ।
पदभारका लागि सपथ लिनु, सोहीअनुसारको कर्तव्य निर्वाह गर्नु र बद्लिँदो जनमतको कदर गर्नु पृथक विषय हुन् । यसलाई दलका नेताहरूले आत्मसात गर्न सकेनन् चाहेनन् । कार्यपालिका प्रभावकारी हुनै सकेन, सरकारी कार्य सम्पन्न गर्न प्रणालीविपरीत परिचालित हुनुपर्ने अवस्था सिर्जना भयो । न्यायपालिकामा न्यायका लागि प्रस्तुत हुँदै गर्दा दलका पिछलग्गु कार्यकर्तासँग जम्काभेट हुने परिस्थति निर्माण भयो । यसैलाई लोकतन्त्र मानेर मतदाताले सन्तुष्टि लिन सकेनन् । अहिलेको निर्वाचनमा देखिएको असन्तुष्टि यिनै विकृतिका उपजका परिणाम हुन् ।
विशेषगरी विकसित क्षेत्रका आक्रोसित मतदाता दलका उम्मेदवारका मिठास र आश्वासनमा समेटिएनन् । मतदाताहरू खरिद गर्ने कतिपय प्रयासहरू पनि जनताले निस्तेज बनाइदिए । यस निर्वाचनमा कोही निर्वाचन हारेर पनि जिते, धेरै संख्याका उम्मेदवारहरू निर्वाचन हारेर पराजित भए, केही निर्वाचन जितेर पनि पराजित भएका छन् । थोरै अपवादमा निर्वाचन जितेर बिजयी बनेका छन् ।
यस अवस्थामा पनि गत निर्वाचनको तुलनामा योपटकको चुनाव निष्पक्ष, शान्तिपूर्ण र सफल रह्यो । वर्तमान सरकार यसका लागि धन्यवादको पात्र छ । स्थानीय निर्वाचन र यस निर्वाचनमा प्रधानमन्त्रीको नेतृत्व सफल देखियो । अब राजनीतिले केही सुधारका कार्यहरूलाई शीघ्र प्रारम्भ गर्नुपर्छ । संसदमा उपस्थिति दिएका सबै दल र संसदका बीच केही साझा एजेन्डामा मतैक्यता हुनु जरुरी छ । देशमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्नेगरी कानुनीलगायतका प्रक्रियाहरू अवलम्बन गरिनुपर्छ । जुनसुकै पदमा आसीन हुनेहरूलाई भ्रष्टाचारमा छानबिन गरी कारबाही गर्न पाउने गरी अधिकार प्राप्त निकायलाई स्वतन्त्रता दिइनुपर्छ । निर्वाचनमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न निषेध मतको व्यवस्था गर्नु जरुरी छ ।
मतदान गर्दिन भन्ने अधिकार जनतालाई दिनुपर्छ । सबै क्लस्टरबाट प्रतिनिधित्व हुनेगरी पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फ उम्मेदवारी दिने व्यवस्था संविधानमै मिलाउनुपर्छ । दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नु जरुरी छ । निर्वाचित प्रतिनिधिले जनमतको उपेक्षा हुनेगरी कार्य गरेमा बीचैमा प्रत्याह्वान गर्न सक्नेगरी कानुनी व्यवस्था गर्नु जरुरी छ । निर्वाचनमा पराजित भएकालाई राष्ट्रपति र उपराष्ट्रपति पदमा निषेध गर्नु पर्दछ, यो जनमतको कदर हो । एकै परिवारबाट एकभन्दा बढीको उपस्थिति संसदमा गराइनु हुँदैन । वैदेशिक रोजगारीमा गएका र राष्ट्रसेवाका क्रममा विदेशमा रहेकालाई मताधिकार सुनिश्चित हुनुपर्छ ।
अब पुनः राजनीतिक अस्थिरताको आमन्त्रण गर्न विशुद्ध अंकगणीतीय खेल प्रारम्भ हुनेछ । यसमा सबै दलकाबीच मतैक्यता गरी मेरिटका आधारमा सरकारी कार्यको विरोध र समर्थन गर्न उच्च राजनीतिक संस्कारको प्रारम्भ गरिनुपर्छ । यस सम्बन्धमा केही देशका उदाहरणबाट पाठ सिक्नसक्नु पर्दछ । क्यानाडामा पुरै चार वर्षसम्म अल्पमतको सरकार सबैभन्दा ठूलो दलले सञ्चालन गर्ने वातावरण बनेको थियो ।
सन् १९९० को दशकमा भारतमा नरसिंह रावको नेतृत्वको मिलिजुली सरकार पुरै पाँच वर्ष चलेको थियो । अटलबिहारी वाजपायीको सरकारमा १५ दल सम्मिलित थिए । पाँच वर्ष चलेको थियो । यसका लागि मिलिजुली संस्कृतिको विकास हुनु जरुरी छ । अन्यथा सार्वभौम जनताले अहिलेको निर्वाचनमा आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्ने गरी आफ्नै छोरीलाई गठबन्धनको उम्मेदवार बनाएकोमा मतदाताले परास्त गरिदिएको ताजा घटनाको स्मरण गर्नुपर्छ । जनताको निर्णय योभन्दा कठोर हुन सक्दछ । सच्चिने वा सक्किने हो दलका राजनीतिक सोच र निर्णयमा निर्भर गर्दछ ।
प्रतिक्रिया