
चितवन प्रहरीले चोरीका मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरेको छ । सादा पोषाकमा खटिएको विशेष प्रहरी टोलीले भरतपुर–२ बाट दुई जनालाई मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुलाई सोधपुछ गर्दा थप ३ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा भरतपुर १६ का १८ वर्षीय होम कुमार गुरुङ, वर्ष ३७ का सुनिल मगर, नवलपरासी (सुस्ता पूर्व) बुलिङटार गाउँपलिका–५ घर भई हाल कावासोती–२ मा डेरा गरी बस्ने वर्ष २४ का यम कुमार थापा मगर, कावासोती नगरपालिका वडा नं ४ वस्ने वर्ष २७ का यमबहादुर सारु मगर र गैंडाकोट नगरपालिका वडा नं ११ वस्ने वर्ष २६ लाल कुमार आले रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ना ५१ प ५८१७ नम्बर प्लेट भएको सेतो रङको एन.एस. मोटरसाईकल, प्रदेश ०३–०३–००१ प ७३०२ नं. को रातो/कालो २२० पल्सर मोटरसाइकल, प्र.२–०३–००१ प ५८६४ नं. प्लेट रहेको सेतो कलरको डुक कम्पनिको मोटरसाइकल, प्र.३–०२–००८प ०३९८ नम्बर भएको रातो कलरको एनएस मोटरसाइकल, लु ४४ प ७७४२ नं. को प्लेट रहेको निलो कलरको २२० सिसि को पल्सर गरी ५ वटा मोटरसाइकल र लक फोड्न प्रयोग गरिने एक थान औजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
जिल्ला विभिन्न स्थानमा मोटरसाइकल चोरी हुने क्रम बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको थियो ।
यही मंसिर २५ गते साँझ पौने ८ बजेको समयमा भरतपुर–२ मा ना ५१ प ५८१७ नम्बर प्लेट भएको सेतो रङको एन.एस. मोटरसाईल सुनिल मगरले चलाएर पछाडी होम कुमार गुरूङलाई राखेर पुगेका थिए । सो क्रममा पार्किङमा रहेको प्रदेश ०३–०३–००१ प ७३०२ नं. को रातो/कालो २२० पल्सर मोटरसाइकललाई उनीहरुले साथमै ल्याएको लक तोड्ने औजारले लक फोडी चोरी गर्न लागेको अवस्थामा सोही स्थानमा खटिएको प्रहरी टोलिले पक्राउ गर्न सफल भएको थियो ।
उनीहरुलाई तत्काल सोधपुछ पश्चात अन्य ब्यक्ति कुमार थापा मगर, यम बहादुर सारु मगर र लाल कुमार आले समेतलाई तत्काल नारायणघाट पुल्चोकमै फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया