
चीनको कोभिड नीतिमा एक सय असी डिग्री कोणमा परिवर्तन भएपछि चीनका अस्पतालहरू निकै दबाबमा परेका छन् । जसको कारण डाक्टर र नर्सहरूले समेत अस्पतालमा बिरामीलाई कोरोना संक्रमण गर्न सक्ने देखिएको छ ।
कर्मचारी अभावका कारण अग्रमोर्चाका चिकित्साकर्मीहरूलाई आफैँ भाइरस संक्रमित भएपनि काममा खटिन निर्देशन दिइँदै गरेको देखिन्छ । स्वास्थ्य नीतिमा विशेषज्ञता हासिल गर्दै आइरहेका एकजना चिनियाँ प्राध्यापकले अमेरिकाको याले विश्वविद्यालयबाट आफ्नो मुलुकको यो समस्यालाई अनुगमन गरिरहेका छन् । प्राध्यापक चेन सिले बीबीसीलाई भनेका छन्, “अहिलेको प्रणालीमा रहेको ठूलो तनावबारे मैले चीनमा रहेका अस्पतालका निर्देशकहरू र अन्य चिकित्सा कर्मचारीहरूसँग कुरा गरिरहेको छु । संक्रमित मानिसहरूले अस्पतालमा काम गर्नुपर्ने परिस्थितिका कारण त्यहाँ कोरोना भाइरस फैलिने वातावरण बनेको छ । बढ्दो बिरामीको चापका कारण चीनका अस्पतालहरूले हतार हतारमा ज्वरोको उपचार गर्ने वार्डहरू थपिरहेका छन् । तर, त्यस्ता वार्डहरू पनि तुरुन्तै भरिने गरेका छन् । अझै संक्रमित भएपछि घरैमा बस्न सकिने सन्देश प्रवाह नभइसकेकाले पनि अस्पतालमा चाप बढेको हो ।”
चेनले थप बताएका छन्, “जनतालाई यस्तो सन्देश प्रवाह गरिनु अघि धेरै काम गरिनु पर्दछ । रोगको सामान्य लक्षणहरू देखिँदा घरमै बस्ने संस्कृति छैन । बिरामी भएको महसुस हुनासाथै सबै सिधै अस्पताल पुग्छन् । यसले सजिलै स्वास्थ स्याहार प्रणालीलाई धराशायी पार्न सक्छ ।”
फार्मेसीहरूमा मानिसको भीड लाग्दा रुघाखोकी वा फ्लु उपचारका लागि प्रयोग हुने औषधिहरू देशभरि नै अभाव हुन थालेको छ । घरैमा बसेर कोभिड परीक्षण गर्ने किट्सको पनि अभाव हुन थालेको छ ।
राजधानी बेइजिङमा पुनः रेस्टुरेन्टहरू खोल्ने अनुमति दिइएको छ । तर, त्यहाँ निकै कम ग्राहकहरू मात्र देखिन्छन् भने सडकहरू पनि सुनसान छन् । कम्पनीहरूले आफ्ना कामदाहरूलाई काममा फर्कन आह्वान गरिरहेका छन् । तर, अधिकांश व्यक्ति त्यसका लागि अनिच्छुक देखिन्छन् । बीबीसीबाट
प्रतिक्रिया