नेपाली कांग्रेसले पार्टीको विधानअनुसार संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजा आएपछि कांग्रेसले विधानअनुसार दलको नेता चयनको प्रक्रिया थालेको हो ।
कांग्रेसमा संसदीय दलको नेताका लागि देउवा–गगन भिड्दै
इच्छाकामना न्युज४, पौष २०७९
5Shares
काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीको विधानअनुसार संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजा आएपछि कांग्रेसले विधानअनुसार दलको नेता चयनको प्रक्रिया थालेको हो ।
कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । ती ८९ जना प्रतिनिधिसभा सदस्य नै दलको नेता छान्ने प्रक्रियामा सहभागी हुन पाउने छन् ।
दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा मुख्य आकांक्षी छन् । दलको नेताका लागि रामचन्द्र पौडेल, प्रकाशमान सिंह पनि आकांक्षी हुन् । तर, मुख्य प्रतिस्पर्धा देउवा र थापाबीच नै हुने अवस्था बढेको छ । नेता शेखर कोइरालाले भने दलको नेतामा आफ्नो रणनीति खुलाएका छैनन् । उनी देउवासँग १४औं महाधिवेशमा मुख्य प्रतिस्पर्धी थिए ।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफू निकटका नेतामार्फत दलको नेताका लागि बलुवाटारबाटै लविङ गरिरहेका छन् । उनले शनिबार पार्टीका तर्फका निर्वाचित प्रतिनिधिसभा सदस्यलाई सरकारी निवास बलुवाटार बोलाएर औपचारिक बधाईसमेत दिएका थिए ।
देउवाले पूर्वउपसभापति विमलेन्द्र निधि तथा प्रवक्ता डा. प्रकाशसरण महतलाई समेत दलको नेताका लागि लविङमा खटाउँदै आएका छन् ।
महामन्त्री थापाले भने १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालालाई समेत भेटेरै दलको नेताका लागि सहयोग गर्न आग्रह गरिसकेका छन् ।
यसैगरी, नेता रामचन्द्र पौडेललाई समेत थापाले भेटेर सहयोगका लागि आग्रह गरेका छन् । उनले काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदिप पौडेलसँग समेत भेटघाट गरेका छन् । यस्तै नेता चन्द्र भण्डारीसँग पनि थापाले भेटेका छन् भने उपसभापति धनराज गुरुङसँग पनि थापाले भेटेर सहयोगका लागि आग्रह गरेका छन् ।
कांग्रेसको १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए भने उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित बनेका हुन् ।
थापा भने देउवा सभापति बन्दा अर्को समूहबाट महामन्त्री निर्वाचित भएका थिए । उनी प्रतिनिधि सभामा काठमाडौं ४ बाट निर्वाचित सांसद हुन् ।
कांग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । संसदमा ठूलो दल कांग्रेस नै भएका कारण र प्रधानमन्त्रीसमेत दाबी गर्न सकिने अवस्था बन्दै गएपछि दलको नेता बन्नका लागि दौडधुप बढेको हो ।
दलको नेताका आकांक्षी रहेका नेता पौडेल तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् भने सिंह काठमाडौं १ बाट निर्वाचित सांसद हुन् ।
कांग्रेस राजनीतिको १४औं महाधिवेशदेखिको पृष्ठभूमि हेर्ने हो भने खासगरी संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
१४औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइरालाले मौन बसेर सभापतिमा देउवालाई सघाएको बताइन्छ । सिंहले भने पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई नै समर्थन गरेकाले पनि थापाबाहेकका अन्यले दलको नेताका लागि देउवातिरै ढल्किने अवस्था बन्न सक्छ ।
कांग्रेसका अर्का वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले भने थापालाई नै दलको नेता र आगामी प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने बताउँदै आइरहेका छन् ।
उनले निर्वाचन अघि नै थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिसकेका छन् भने दलको नेताका लागि पनि आफैं प्रस्तावक बन्ने अभिव्यक्ति दिइसकेका छन् ।
देउवा–गगन भिड्दै
प्रमुख सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ । कांग्रेसभित्र संसदीय दलको नेताका लागि सहमति हुने सम्भावना कम छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था बढेको छ । दलको नेता चुन्न भोलि मतदान गर्ने गरी कांग्रेसले तयारी गरेको हो ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको हो । समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई दिएको कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिए ।
उनका अनुसार समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य तोकिएका छन् । प्रवक्ता महतले सकेसम्म दलको नेता सहमतिमा नै चयन गरिने नभए लोकतान्त्रिक ढंगबाट निर्वाचनको प्रक्रियामार्फत चयन गरिने जानकारी दिएका हुन् । राजधानी दैनिकमा खबर छ
प्रतिक्रिया