अन्तर्राष्ट्रिय वायुसेवालाई पोखरा विमानस्थलमा छुट

 

जनकपुर:  सरकारले नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै हुनुहुन्छ ।

 

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको छ । विमानस्थलको भूमिस्थ सेवामा समेत छुट दिनेबारे छलफल भइरहे पनि निर्णय भने भइसकेको छैन ।” विमानस्थल सञ्चालनमा आएदेखि एक वर्षसम्म उक्त छुट सुविधा दिइने उहाँले बताउनुभयो ।

 

प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्न नेपाल वायुसेवा निगमलाई २०७७ मङ्सिरमै अनुमति दिइसकेको छ । निगमले जहाजको म्याक्सिम सर्टिफिकेटेड टेकअफ वेट (एमटीओडब्लू) अधिकतम उडानयोग्य तौललगायतका आधारमा भूमिस्थ सेवा शुल्क लिनेछ । गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई एक वर्षसम्मका लागि विभिन्न सेवा शुल्कमा छुट दिँदै आएको छ । त्यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने हवाई सेवाले हाल भूमिस्थ सेवामा ५० प्रतिशत छुट लिँदै आएका छन् । गोरखापत्र दैनिकबाट

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार