जनकपुर: चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिले हातमा लगाएको सुनको ब्रासलेट चोरी गर्ने सुरक्षागार्ड पक्राउ परेका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ स्थित केराबारीमा यही पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तनहुँको भानु नगरपालिका वडा नंं.२ घर भई हाल जिल्ला चितवन भरतपुर– १ बस्ने वर्ष ३७ का सञ्जिव बहादुर रायमाझी घाईते भई भरतपुर अस्पतालमा उपचार गराउदा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको शव अस्पतालकै आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखेको बेला हात लगाएको सुनको ब्रासलेट चोरी भएको थियो ।
मृतकको आफन्तले ब्रासलेट चोरी भएको थाहा पाएपछि प्रहरीले अनुसन्धान गर्दैजाँदा अस्पतालकै सुरक्षा गार्ड खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नं. ६ घर भई हाल भरतपुर–७ बस्ने वर्ष २७ का कृष्ण राईलाई पक्राउ गरेको हो ।
उनलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
प्रतिक्रिया