जनकपुर :- धनुषाको मुखियापट्टी मुसहरनिया ३ का ४०वर्षीय धानुक दासको गोली हानेर हत्या गर्ने दुई सुटरलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
गोली हानेका सुटर धनुषाकै जटहीका रञ्जित यादव र भारत विहार राज्यको खजुलीका आकाश भनिने सोनु मिश्रा पक्राउ परेका हुन् । उनीहरुलाई मंगलवार राति सिमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको बुझिएको छ ।
पुस ९ गते साँझ घरमै किराना पसल चलाइरहेका बेला दासमाथि यादव र मिश्राले अन्धाधुन्द गोली बर्साएका थिए । गोली लागेर घाईते दासको उपचारका लागि जनकपुर लग्न नपाउँदै मृत्यू भएको थियो ।
प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले दिएको जानकारी अनुसार सुटर यादव र मिश्राले गोली हाने बापत तीन लाख रुपैयाँ लिइसकेको खुलेको छ । थप २ लाख दिने मृतक दासका छोरा प्रदिप दाससँग डिल भएको थियो ।
सुटरसँग मृतक दासका छोरालाई डिल गराउने व्यक्ति उदय दास हुन् । मृतकका नातामा ज्वाँई पर्ने उदय प्रदेश प्रहरी कार्यालय एमटी शाखाका हवलदार हुन् । हवलदार उदयमार्फत नै सुटरले तीन लाख रुपैयाँ लिएको पनि खुलेको छ ।
प्रदिप मृतक दासको जेठी श्रीमतीतर्फका छोरा हुन् । सम्पत्तिकै विवादका कारण उनले हवलदार उदयको सहयोगमा सुटर खोजेर बुवा धानुकको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न हवदार उदय, मृतकका छोरा र श्रीमतीलाई समेत नियन्त्रणमा लिइसकेको छ । उनीहरुमाथि थप अनुसन्धान तथा कारबाही धनुषा प्रहरीले अगाडी बढाएको छ ।
प्रतिक्रिया