भारतले अन्तिम खेल अगावै जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय श्रृंखला !

जनकपुर:  घरेलु टिम भारतले श्रीलंकविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला अन्तिम खेल अगावै जितेको छ ।

 

कोलकातास्थित इडेन गार्डेनमा बिहीबार भएको दोस्रो खेलमा श्रीलंकालाई चार विकेटले हराएसँगै भारतले तीन खेलको श्रृंखलामा २-० को अग्रता बनाउदै जितेको हो । श्रीलंकाले प्रस्तुत गरेको दुई सय १६ रनको लक्ष्य भारतले ४३.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

 

भारतको जितमा लोकेश राहुलले अविजित ६४ रन जोडे । राहुलले १०३ बलमा ६ चौका प्रहार गरे । हार्दिक पण्ड्याले ३६, श्रेयश अय्यरले २८, शुभमन गिल र अक्सर पटेलले समान २१ बनाए । यस्तै, कप्तान रोहित शर्माले १७ रन जोड्दा कुलदीप यादव १० रनमा अविजित रहे ।

 

श्रीलंकाका लाहिरु कुमारा र चमिका करुणारत्नेले समान दुई विकेट लिए । कसुन रजिथा र धनन्जय डी सिल्भाले एक-एक विकेट लिए ।

 

त्यसअघि, टस जितेर ब्याटिङमा आएको श्रीलंकाले ३९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय १५ रनको योगफल खडा गरेको थियो । श्रीलंकका नुवानिन्दु फर्नान्डोले ५० रन बनाएका थिए । कुशल मेन्डिसले ३४, दुनिथ वेलेगाले ३२ वानिन्दु हसरंगाले २१, अभिस्का फर्नान्डोले २०, चमिका करुणारत्ने र कासुन रजिथाले समान १७ रन जोडे ।

 

भारतका मोहम्मद सिराज र कुलदीप यादवले समान तीन विकेट लिएका थिए । उम्रन मलिकले दुई र अक्षर पटेलले एक विकेट लिए । यसअघि श्रृंखलाको पहिलो खेलमा भारत ६७ रनले विजयी भएको थियो । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  २२:३८

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार