सलिना मगर,सर्लाही,जेष्ठ २३गते:
हामीले नेतृत्व लिइसकेपछि भ्रष्ट्राचार गर्नु हुँदैन र गर्न दिनु पनि हुँदैन भनेर लाग्यौं । हामी मालिक होइन, नोकर बन्नुपर्छ, जनता मालिक हो भनेर बुझ्नुपर्छ ।
आफ्नालाई विश्वास गर्ने बानी गर्नुपर्छ र विपक्ष्ीालाई माया गर्नुपर्छ । हामीले गाउँलाई सहर बनाउने नीति लियौं र हाम्रो नगरमा भएका सबै गरिब र झुपडीमा बसोबास गर्ने जनतालाई धनी कसरी बनाउन सकिन्छ भन्ने सोचेर काम गर्यौं भने जनताको मन जित्छौं ।
महिला र पुरुषबीच विभेद थियो, त्यसैले हामीले सुत्केरी भत्ता वितरण गर्यौं । छोरा र छोरीमा विभेद नहोस् भनेर हामीले छोरी पाउनेलाई पाँच हजार, छोरा पाउनेलाई तीन हजार रुपैयाँ सुत्केरी स्याहार खर्च दियौं ।
म निर्वाचित हुँदा २४ वटा सामुदायिक विद्यालय थियो । २५ सयको हाराहारीमा विद्यार्थी थिए । तर, हामीले शिक्षा ऐन कडाइका साथ जारी गर्यौं–सबै जनप्रतिनिधिले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउनुपर्ने । र, सबै कर्मचारीले पनि त्यहीँ पढाउनुपर्ने । हामीले गुणस्तरीय शिक्षा दिने भनेर कडाईका साथ ऐन जारी गरेपछि अहिले हाम्रो सामुदायिक विद्यालयमा भर्ना रोक्नुपर्ने अवस्था छ ।
हामीले रोग लाग्नु भन्दा रोग लाग्न नदिने कार्यक्रमको सुरुवात गरेका छौं । हामीले एक वडा, एक खेल मैदान भनेर काम अघि बढाएका छौं । हामीले उत्पादन सँगसँगै व्यवस्थापन र व्यवस्थापन सँगसँगै बजारीकरणमा जोड दिएका छौं ।
जति पनि पूर्वाधारका काम गर्छौं, जनतासँग जोडेर गर्ने हो भने आफैं सुशासन हुने रहेछ । उपभोक्ता समिति निर्माण गर्दा यो हाम्रो पार्टीको, यो अर्को पार्टीको भन्नु हुँदैन । समाजमा रहेका, समाजले चुनेका मान्छेलाई उपभोक्ता समितिमा जोडेर काम गरियो भने सबैलाई सुशासन सम्बन्धी ज्ञान हुन्छ ।
हामीले यो पालिका मेरो घर हो, घर जसरी चलाउँछु, त्यसरी अगाडि बढ्छु भन्ने सोच बनाउनुपर्छ । संसारले चिन्ने जसले नयाँ काम गर्छ, जसले नयाँपन दिनसक्छ, उसैलाई हो ।
प्रतिक्रिया