सुनसरीमा भोजपुरी कलाकार खेसारीलाल यादव सहभागीकार्यक्रममा, झडप हुँदा पाँच जना घाइत !

 

जनकपुरधाम:  मंगलबार सुनसरीको बर्जु गाउँपालिका– ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव सहभागी कार्यक्रममा झडप भएको हो । झडपमा दुई जना दर्शक र तीन जना प्रहरी सामान्य घाइते भएका हुन् । प्रहरीले कार्यक्रम स्थलमा ढुंगामुडा गर्ने एक जनालाई पक्राउ गरेको छ ।

गत वर्ष माघ ४ गते मंगलबार बर्जु महोत्सव यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो । यादवलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान नदिएपछि आक्रोशित भिडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्करपियो गाडी जलाएको थियो । स्टेज तोडफोड गरेको समूहले साउन्ड सिस्टम र कार्यक्रमस्थलमा प्रयोग गरिएको लाइट पनि तोडफोड गरेको थियो ।

यो पटकको महोत्सवमा पनि यादवलाई बोलाइएको थियो । यादव सहभागी हुने कार्यक्रमको टिकट शुल्कको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले महोत्सवमा टिकटको विषयमा सामान्य विवाद भएको बताए । टिकटको विषयमा विवाद गर्न खोजेपछि एक जनालाई नियन्त्रणमा लिएको उनले बताए । भिडलाई नियन्त्रणमा लिने क्रममा तीन जना प्रहरी र कार्यक्रमस्थल पुगेका २ जना सामान्य घाइते भएको उनले बताए

यादव सहभागी कार्यक्रममा २५ हजार भन्दा बढी दर्शक पुगेका थिए । ‘कार्यक्रममा २५–२६ हजार दर्शक सहभागी थिए,’ ढकालले भने, ‘कार्यक्रम सकेर कलाकारलाई गन्तब्यमा पठाएर हामी फर्कियौं ।’

गत वर्ष पनि झडप भएका कारण कार्यक्रमको सुरक्षाका लागि यसपालि प्रहरीले सतर्कता अपनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार