कोसी अस्पतालका चिकित्सकले नै जीवित शिशुलाई मृत घोषणा गरेपछि…

जनकपुरधाम:  हाइपोथर्मिया भएका १८ दिनका जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट भएको छ ।

मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ भात्तिगन्जकी उमा मुखियाको १८ दिने नवजात छोरीलाई जीवितै अवस्थामा मृत घोषणा गरेपछि आफन्तले कोसी अस्पताल विराटनगरका चिकित्सक आकाश यादवलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट यादवको टाउकोमा चोट लागेको छ ।

घटनामा संलग्न तीनजना मनोज मुखिया, मन्नु मुखिया र नाम नखुलेको अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवजात छोरी अचानक बिरामी भएपछि बुबा दिलीप मुखिया र आमा उमा बुधबार बिहान कोसी अस्पताल उपचारार्थ भर्ना गरेका थिए ।

बुवा दिलीपले भने, इमरजेन्समा भर्ना गरेपछि डा. आकाश यादवसहितको टोलीले चेकजाँच गर्नुभयो । केहीबेरमै बच्चाको मृत्यु भएको भन्दै घर लैजान भन्नुभयो ।

तर, मेरी भाउजूले बच्चा बोकेर जाँदा पेट चलेको देखियो । जीवितै रहेछ ।

 

मृत घोषणा गरिएकी छोरीलाई लगत्तै नजिकैको गोल्डेन अस्पतालमा लगेर उपचार सुरु गरेको र अहिले एनआईसीयूमा राखेर उपचार भइरहेको मुखियाले बताए ।

उनका अनुसार अहिले छोरीको स्वास्थ्य अवस्था रूपमा सुधार भइरहेको छ ।

 

नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र श्वास पनि नचलेको भन्दै कोसीका चिकित्सकले घर लैजान भनेको आमा उमाले बताइन् ।‌

 

कोसी अस्पतालका मेसु लक्ष्मी नारायण यादवले चिकित्सकमाथि कुटपिट भएको जानकारी दिँदै शिशु उपचारको विषयमा हेलचेक्राइँ भए नभएको विषयमा छानबिन सुरु गरिएको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार