बिनोद निगम / जेठ २३ / नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं ५ पर्ने सदरमुकाम परासीमा दिउँसै गोली चलेको छ। सम्पूर्ण सम्पति अर्थात अंश हात पार्नका लागि भतिजाले आफ्नै काकी माथि सोमबार गोली प्रहार गरेका हुन्।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वार्ड नं ४ मंगलापुर बस्ने वर्ष ३२ को हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका हुन्। पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए।
सुरुमा गोली प्रहार गरेको देखेकी रोशनी आतिदैं भागेपछि पुन: प्रहार गरेको गोलीबाट उनी बचेकी हुन्। जिल्ला अदालत देखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली चलेपछि स्थानीय आतंकित बनेका थिए। हर्षरामका बाबुका दुई भाई हुन्। दुई भाईको अंशमा गाउँमा १८ कट्ठा र सदरमुकाम परासीमा ९ धुर जग्गा रहेको उनका कानुन व्यवसायीले बताएका छन्।
सन्तान विहिन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायका साथ हर्षरामले गोली हानेको आफन्तहरुले बताएका छन्। दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकी माथि गोली प्रहार गरेका हुन्। घटना स्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको छ।
गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताए।
प्रतिक्रिया