खोज तलास खबर, जनकपुरधाम: बलिउड अभिनेता सतीश कौशिकको निधन भएको छ । यो दुखद खबरको जानकारी अभिनेता अनुपम खेरले ट्वीटमार्फत दिएका हुन् ।
सतीश कौशिकले ६७ वर्षको उमेरमा अन्तिम सास फेरेका हुन् । यसअघि कौशिक कोरोना कालमा कोभिडबाट संक्रमित भएका थिए । अनुपम खेरले आफ्नो ट्वीटमा लेखेका छन्– ‘मलाई थाहा छ, मृत्यु नै यो संसारको अन्तिम सत्य हो । तर यो कुरा म बाँचुञ्जेल कहिले पनि आफ्ना अति नै निकट मित्र सतीश कौशिकका बारेमा लेख्ने छु भन्ने कुरा सपनामा पनि सोचेको थिइन । ४५ वर्षको मित्रतामा यसरी अचानक पूर्णविराम । तिमीबिना जीवन उस्तै रहने छैन सशित । ओम शान्ति ।’
सतीश कौशिक बलिउडका प्रख्यात अभिनेता, कमेडियन, स्क्रिप्ट राइटर, निर्देशक तथा निर्माता थिए । उनको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो । बलिउडमा ब्रेक पाउनुअघि उनले थिएटरमा काम गरेका थिए ।
अभिनेताको रुपमा सतीश कौशिक सन् १९८७ मा प्रदर्शन भएको फिल्म ‘मिस्टर इण्डिया’ बाट प्रख्यात भएका थिए । त्यसपछि उनले १९९७ मा दीवाना मस्तानामा पप्पू पेजरको चरित्र निर्वाह गरेका थिए । सतीश कौशिकले सन् १९९० मा राम लखनका लागि तथा १९९७ मा साजन चले ससुराल फिल्मका लागि सर्वश्रेष्ठ हास्य अभिनेताको फिल्मफेयर पुरस्कार समेत पाएका थिए ।
सतीशले विद्यालयको अध्ययन दिल्लीबाट पुरा गरेका थिए । किरोडीमल कलेजबाट स्नातक गरेपछि उनी नेशनल स्कूल अफ ड्रामामा भर्ना भए । उनले सन् १९८३ मा बलिउडमा कदम राखेका थिए । १९८५ मा उनले शशि कौशिकसंग विवाह गरेका थिए । तर, विवाहपछि उनको जीवनमा दुःखद घटना आइपर्यो । उनका छोराको दुई वर्षकै उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया