
खोज तलास खबर, जनकपुरधाम: नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ ।
नेपाल क्रिकेट फाउन्डेसनद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते ३ वटा टी–२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला क्रिकेट खेल प्रतियोगिता हुने जानकारी दिइएको छ ।
फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रतियोगितामा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एशोसिएशन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने बताए । भारतीय टीममा विभिन्न राज्यबाट टी–२० खेल्ने खेलाडीको सहभागिता हुने जानकारी उनले दिए । नेपाल तर्फबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता रहेका महिला खेलाडी रहने छन् ।
प्रतियोगिताबाट २ मुलुकबीचको खेल सम्बन्ध विकसित हुनुका साथै नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुग्ने नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले बताए । मैत्रीपूर्ण खेलमा उत्कृष्ट ब्याटर, बलर, खेलाडी र किपरलाई पुरस्कृत गरिने छ ।
नेपालमा क्रिकेटको स्थानीयस्तरमा विकास गर्नका लागि फाउन्डेसनले आगामी दिनमा पुरुष तथा महिलाको प्रतियोगिताको आयोजना गर्ने बताएको छ ।
प्रतिक्रिया