गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गहनासहित पाल्पाका एक यात्रु पक्राउ

 

जगत ठाडा मगर
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पा रिब्दीकोटका राजेन्द्र कुँवर रहेका छन ।

जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका उनलाई मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो ।

कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानले यस अनलाईनलाई जानकारी दिए ।

उनको साथबाट तीनवटा सिक्री र एकवटा ब्रास्लेटसहित फेला परेको छ । बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो । युवा काम गरेर नेपाल फर्केको अवस्थाको हो वा अन्य भन्ने विषय खुलेको छैन ।

सरकारले वैधानिक रुपमा ५० ग्रामसम्म सुन ल्याउन पाइने व्यवस्था रहे पनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनु पर्ने भएपनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ । पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार