सबैला नगरपालिकामा औषधी र घाँसको विउ खरिदमा व्यापक भ्रष्टाचारको आरोप

खोज तलास खबर, जनकपुरधाम ! सबैला, धनुषा । जनमत पार्टीका नेता बीपी साहले सबैला नगरपालिकामा औषधी खरिद र घाँसको विउ वितरणमा व्यापक भ्रष्टाचार भएको गम्भीर आरोप लगाएका छन्। मंगलबार सम्पन्न सबैला नगरपालिकाको तेह्रौं नगर सभालाई सम्बोधन गर्दै उनले नगर प्रमुख कारिराम यादवमाथि भ्रष्टाचार गरेको भन्दै छानबिनको माग गरेका हुन्।

 

महालेखा परीक्षकको प्रतिवेदन २०८०/८१ अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा ४५ लाख ६८ हजार ६ सय ३८ रुपैयाँ बराबरको औषधी खरिद गरेको देखिए पनि त्यसको कुनै सूचना नरहेको र स्वास्थ्य शाखामा औषधी दाखिला समेत नभएको उल्लेख गरिएको छ। औषधीको म्यादसमेत नखुलेको भन्दै नेता साहले औषधी खरिदको नाममा व्यापक अनियमितता भएको बताए।

 

> “सबैला नगरपालिकाका मेयर साहाबले जनताको लागि औषधी खरिद गर्नु भएको छ कि छैन भन्ने मलाई शंका छ,” नेता साहले भने, “औषधी खरिद गरिएको भए त्यसको सूचना र म्याद देखिनुपर्ने हो। तर कुनै प्रमाण नरहेकोले ४५ लाखभन्दा बढीको भ्रष्टाचार भएको देखिन्छ। यसको छानबिन हुनु पर्छ।”

 

 

 

त्यस्तै, घाँसको विउ वितरणमा पनि अनियमितता भएको भन्दै नेता साहले ७ सय ४३ जना किसानलाई अनुदानमा वितरण गर्नु पर्ने घाँसको विवरणसमेत नरहेको आरोप लगाए। उनका अनुसार किसानको नाम, ठेगाना र अनुदानको किसिमसमेत नखुलेको देखिन्छ।

 

> “घाँसको अनुदानमा भ्रष्टाचार गरेर मेयर साहेब आफैले घाँस खानु भएको छ,” नेता साहले व्यंग्य गर्दै भने, “लेखापरीक्षण प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख छ कि किसानका नाममा आएको बजेट मेयरको खल्तीमा गएको छ।”

 

 

 

साहले सबैला नगरपालिकामा अहिलेसम्म १ अर्ब २ करोड ५ लाख १३ हजार रुपैयाँ बेरुजु रहेको जानकारी दिँदै नगरपालिकाको आर्थिक अवस्था डुब्ने स्थितिमा पुगेको चेतावनी दिए। उनले भ्रष्टाचारको विस्तृत छानबिनका लागि सरोकारवाला निकायसँग आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार