खोज तलास खबर, जनकपुर धाम ! धनुषाको सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला पर्नुभएको छ। इलाका प्रहरी कार्यालय सबैलाका अनुसार गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बर पुलमा महतोको शव बुधबार राति ११ बजे फेला परेको हो।
प्रहरीका अनुसार शव भेटिएको स्थलमा १०/१२ वटा बियर तथा अन्य मादक पदार्थका खाली बोतलसमेत भेटिएका छन्। प्रारम्भिक जानकारी अनुसार मृतक महतोसहित आठ/नौ जनाको समूहले सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले मृत्युको ठोस कारण तत्काल नखुलेको बताउँदै छानबिन र शव परीक्षणपछि मात्रै थाहा हुने बताउनुभयो। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उहाँले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घटनास्थलमा महतोसँगै रहेको भनिएको समूह हाल फरार रहेको छ। उनीहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको छ। प्रहरीलाई प्रारम्भिक सूचना दिने व्यक्ति पनि सम्पर्कविहीन रहेको प्रहरी निरीक्षक दत्तले जानकारी दिनुभयो।
मृतक महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट सबैला नगरपालिका–१२ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया