खोज तलास खबर, जनकपुरधाम ! धनुषा, १३ साउन – एमालेका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले धनुषामा हालै सशस्त्र प्रहरीले बरामद गरेको अवैद्य काजु प्रकरणमा आफ्नो नाम सुनियोजित ढंगले जोडेर बदनाम गर्न खोजिएको गुनासो गरेका छन्।
नेता महासेठले न्यूज ब्यूरोसँगको कुराकानीमा काजु फेला परेको जग्गामा कैयौँ व्यक्तिहरूको सेयर रहेको बताउँदै, आफू त्यो जग्गा प्रयोगमा नरहेको स्पष्ट पारे। “कोही कसैले त्यहाँ केही राखिदिएको भरमा मेरो नाम जोडेर भ्रम फैलाउनु समाजिक मूल्य मान्यता र राजनीतिक संस्कार विपरित हो,” उनले भने।
गत बुधबार सशस्त्र प्रहरी बलले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाइनिज इँटाभट्टा कम्पाउण्डको एउटा खाली घरमा छापा मार्दा करिब १३ क्विन्टल २० किलो काजु बरामद गरेको थियो। त्यसपछि सामाजिक सञ्जालमा उक्त घर रहेको जग्गा पूर्वमन्त्री महासेठसँग जोडिएको दावी गर्दै विभिन्न टिकाटिप्पणीहरू भएका थिए।
एमालेका जिल्ला सचिव दीप नारायण ठाकुर (दीपन) ले समेत घटनाबारे प्रतिक्रिया दिँदै सो जग्गामा धेरै सेयरधनीहरू रहेको र तस्विरमा देखिएजस्तो कुनै घर पनि नरहेको बताए। “सेयरधनीहरूले आ–आफ्नो भाग अनुसार जग्गा उपभोग गर्दै आएका छन्। यस्तो अवस्थामा कसैले लुकाएर केही राखिदिएमा पूर्वमन्त्रीजस्तो जिम्मेवार व्यक्तिको नाम जोडिनु निन्दनीय छ,” ठाकुरले भने।
सशस्त्र प्रहरी बलका धनुषा प्रमुख प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले पनि अनुसन्धानका क्रममा सो जग्गा महासेठको नभएको पुष्टि भएको जनाएका छन्। “सम्बन्धित पक्षबाट फोन आएपछि बुझ्दा महासेठको नाममा जग्गा नरहेको थाहा भयो,” खड्काले भने।
उनले प्रयोगमा नरहेको स्थानमा कुनै बिचौलिया वा तस्करले अस्थायी रूपमा भण्डारण गरेको हुन सक्ने संकेत दिएका छन्।
यस घटनापछि केही राजनीतिक दलका कार्यकर्ताले पूर्वमन्त्री महासेठविरुद्ध ‘प्रोपागाण्डा’ फैलाएको आरोप एमाले नेताहरूले लगाएका छन्। महासेठले भने आफूमाथि गरिएको यो प्रयासलाई राजनीतिक पूर्वाग्रहको परिणाम भनेका छन्।




प्रतिक्रिया