खोज तलास खबर, जनकपुरधाम ! जनकपुरधाम उपमहानगरपालिकाको लापरवाही र अव्यवस्थित सडक व्यवस्थापनका कारण एक होनहार स्थानीय युवा नेताको मृत्यु भएको घटनाले जनमानसमा तीव्र आक्रोश फैलिएको छ।
स्थानीय युवा नेता सत्तार राइनको आइतबार दिउँसो जनकपुरधामको सडकमा दुई साढे (गोरु) बीचको लडाईंमा परेर मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल जानकी हेल्थ केयर अस्पताल पुर्याइएको थियो, तर उपचारको क्रममा उनको निधन भयो।
प्रत्यक्षदर्शीहरूका अनुसार सडकमा बिचैमा लडिरहेका साढेहरूको झगडाका कारण सत्तार राइनको मोटरसाइकल असन्तुलित भई दुर्घटना भएको हो। स्थानियवासीहरूले उपमहानगरपालिकामाथि खुला सडकमा छाडा चौपाया घुम्न दिँदै जनजीवन र सुरक्षालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
सत्तार राइन सामाजिक क्षेत्रमा सक्रिय, युवामैत्री र लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्थे। उनको असामयिक निधनले सम्पूर्ण जनकपुरधाममा शोकको लहर फैलिएको छ। सो घटनाको विरोधमा स्थानिय युवाहरूले उपमहानगरको कार्यालय अगाडि धर्ना र प्रदर्शनको तयारी गरिरहेका छन्।







प्रतिक्रिया