उत्पीडित समुदायको साझा संगठन डोटिम परिसंघको राष्ट्रिय भेला काठमाडौंमा जारी

खोज तलास खबर, जनकपुरधाम ! काठमाण्डौं, असार २८ –दलित, पिछडावर्ग, थारु, आदिवासी जनजाति र अल्पसंख्यक समुदायको साझा छाता संगठन डोटिम परिसंघ (DOTIM Parisangh) को राष्ट्रिय भेला राजधानीको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा जारी छ।

 

परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिको रूपमा सहभागी भएका छन्।

 

भेलामा देशभरका आठवटै प्रदेश र जिल्लाबाट क्लष्टर अनुसार नेताहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता देखिएको छ। काठमाडौं उपत्यकाभित्र विभिन्न पेशा, व्यवसाय र जीवन क्षेत्रका दलित, मुस्लिम, थारु, पिछडावर्ग तथा आदिवासी जनजाति समुदायका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भएका छन्।

 

जसपा नेपालसँग आबद्ध भातृ संगठनहरू, जातीय घटक संघहरू, शुभेच्छुक संस्थाहरू, स्वतन्त्र सोच राख्ने नागरिक, बुद्धिजीवी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको छ।

 

भेलाले उत्पीडित समुदायबीच एकता, सहकार्य र साझा मुद्दामा संगठित आवाज उठाउने उद्देश्य लिएको छ। उद्घाटन सत्रमा अध्यक्ष यादव र संयोजक पासवानले विशेष सम्बोधन गरेका थिए भने अन्य वक्ताहरूले सामाजिक न्याय, समावेशी नीति, संघीयता सुदृढीकरण, र उत्पीडित समुदायका अधिकारबारे धारणा राखेका छन्।

 

डोटिम परिसंघले उक्त भेलामार्फत देशभर फैलिएका उत्पीडित समुदायका प्रतिनिधिहरूलाई एकजुट गर्दै सामाजिक, सांस्कृतिक र राजनीतिक सशक्तिकरणको अभियानलाई नयाँ दिशा दिने विश्वास लिएको छ।

 

कार्यक्रम अझै जारी छ। विभिन्न सत्र, विषयगत छलफल र सांस्कृतिक प्रस्तुतीहरू पनि सञ्चालन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार