खोज तलास खबर, जनकपुरधाम ! नेकपा एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतले उपत्यकामा १० औं हजारको भिड उतार्ने तयारी रहेको बताएका छन्। मंगलबार जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय परिसरमा आयोजित भेलालाई सम्बोधन गर्दै बस्नेतले बुधबार र बिहीबारभित्रै विशेष कार्यक्रम गर्ने घोषणा गरे।
‘भोलि र पर्सिभित्रै उपत्यका भित्र एउटा विशेष कार्यक्रम गर्छौँ,’ उनले भने, ‘त्यो कार्यक्रममा १० औं हजार युवा परिचालन गर्छौँ। त्यो कार्यक्रमको तपाईँहरू नोटिस गरिराख्नुस्।’ उनले एमाले, युवा संघ, अखिल, अनेमसंघ कुनै पनि संस्था कमजोर नरहेको दाबी गर्दै उक्त कार्यक्रममा ती संगठनहरूको शक्ति प्रदर्शन हुने बताए।
बस्नेतले पार्टी अब नियमित कार्यमा फर्किएको र टोल–टोलमा सुरक्षा लिनेसमेत तयारी भइरहेको जानकारी दिए। ‘हामी रेगुलर काममा लाग्यौँ। अब टोल टोलको सुरक्षा लिने काममा हामी लाग्यौँ,’ उनले भने।
त्यसैगरी, आगामी असोज ३ गते संविधान दिवसको अवसरमा एमालेले विशेष कार्यक्रम आयोजना गर्नेछ भने उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी हुने बस्नेतले बताए।
यसैबीच, मंगलबार भएको आगजनीबाट एमाले केन्द्रीय कार्यालयमा क्षति पुगेको छ। एमाले निकट संगठनहरूले आन्दोलनरत जेन–जी अभियन्ताहरूको गतिविधिलाई सुनियोजित अराजकता भन्दै विरोध जनाएका छन्।





प्रतिक्रिया