खोज तलास खबर, जनकपुरधाम ! डा. सिके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका पूर्वउपाध्यक्ष अब्दुल खान रेशम चौधरीले बिहीबार दर्ता गरिएको नयाँ दलमा प्रवेश गरेका छन्।
जनमत पार्टीको उपाध्यक्ष पदबाट राजीनामा दिएर केही समयदेखि निष्क्रिय रहेका खान नयाँ दल दर्ता गर्ने क्रममा रेशम चौधरीसँगै निर्वाचन आयोगमा उपस्थित भएका थिए। चौधरीले बिहीबार आयोगमा “नागरिक उन्मुक्ति पार्टी (नेपाल)” नामक नयाँ राजनीतिक दल दर्ता गरेका हुन्।
जेलमुक्ति पश्चात राजनीतिक सक्रियता बढाएका रेशमले जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका थिए। उनी र उनकी पत्नी रञ्जिता श्रेष्ठबीच नागरिक उन्मुक्तिभित्र देखिएको आन्तरिक विवादका कारण रेशमले अन्ततः नयाँ दल गठन गरेका हुन्।
अब्दुल खानसँगै जनमतका थप पाँच केन्द्रीय नेताले पनि असोजको पहिलो साता पार्टी छोड्ने निर्णय गरेका थिए। ती नेताहरूले जनमत पार्टीले आफ्नो मूल एजेन्डा र जनताको अपेक्षा पूरा गर्न असफल भएको कारण देखाउँदै पार्टी त्यागेको बताएका छन्।
रेशमको नयाँ दल नागरिक उन्मुक्ति पार्टी (नेपाल)ले थरुहट–मधेस क्षेत्रका मुद्दालाई नयाँ ढंगले उठाउने, राष्ट्रिय एकता र नागरिक अधिकारमा आधारित राजनीति गर्ने जनाएको छ। दलले आगामी निर्वाचनका तयारीलाई प्राथमिकता दिने बताइएको छ।







प्रतिक्रिया