खोज तलास खबर, जनकपुर धाम ! जनकपुरधाम उपमहानगरपालिका–१७ मा एक सातामै पुनः एक अन्दाजी २२ वर्षीया युवतीको शव फेला परेको छ। शव तेतरिया बजारदेखि पौडेश्वर जाने शहिदपथअन्तर्गत तेतरियाभन्दा केही मिटर पूर्व कनकपट्टी जाने बाटोमा बुधबार बिहान फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेशबहादुर बमका अनुसार घटना गएराति नै भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयवासीहरू बिहान करिब ९:३० बजे खेततर्फ जाँदा युवतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का तयार गर्ने कार्य गरिरहेको छ।
प्रहरीका अनुसार मृतक युवतीको घाँटीमा सल वा गम्छा बेरिएको अवस्थामा फेला परेको छ। घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा एक लेडिज ब्याग समेत भेटिएको छ। जिन्स पाइन्ट र कुर्ती लगाएकी ती युवतीको पहिचान हालसम्म खुलेको छैन।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि तयारी गरिरहेको र घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।
यसअघि गत शुक्रबार मात्र पौडेश्वरदेखि परवाहा जाने बाटोमा पनि एक युवतीको बेवारिसे शव फेला परेको थियो। उक्त घटनामा पनि हत्या गरी शव फालिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको भए पनि मृतकको पहिचान अझै खुल्न सकेको छैन।
लगातार युवतीहरूको शव फेला पर्न थालेपछि स्थानीयवासीहरू त्रसित बनेका छन् भने सुरक्षा व्यवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। प्रहरीले दुवै घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ।






प्रतिक्रिया