खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सबैला नगरपालिका–४, कोठिया बलटिया स्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत अति विपन्न तथा दलित समुदायका १५५ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ।
अमर क्षेत्री फाउन्डेसनको आर्थिक सहयोगमा जाडो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुलाई टोपी, ज्याकेट, मौजा तथा पन्जा वितरण गरिएको हो। जाडोको समयमा न्यानो कपडाको अभावका कारण समस्या भोगिरहेका बालबालिकालाई राहत मिलोस् भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।
सहयोग कार्यक्रम सामाजिक अभियन्ता अमरुलाह राईनको विशेष पहलमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक उतिम लाल यादवले सहयोगप्रति खुशी व्यक्त गर्दै अमर क्षेत्री फाउन्डेसन तथा पहलकर्ता अमरुलाह राईनलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक विकास तथा बालबालिकाको हकहितका लागि यस्तै सहयोग निरन्तर रूपमा भइरहोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो।
यस किसिमको सहयोगले अति विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन तथा उनीहरूलाई विद्यालयमा निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने स्थानीयवासीहरूले बताएका छन्।







प्रतिक्रिया