खोज तलास खबर, जनकपुरधाम ! धनुषा, सबैला — सबैला नगरपालिकाले स्थानीय कृषिमा प्रविधिको प्रयोगलाई प्रवर्धन गर्ने उद्देश्यसहित तीनवटा अत्याधुनिक कृषि यन्त्र खरिद गरेको छ। आधुनिक प्रविधियुक्त रिपर मेसिन, जिरो टिलर र मलचर मेसिन खरिद गरी किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराउने तयारी गरिएको नगरपालिकाले जानकारी दिएको छ।
कृषिमा श्रम, समय र लागत घटाउने दीर्घकालीन रणनीति अनुरूप नगरपालिकाले उक्त यन्त्रहरू ल्याएको हो। रिपर मेसिनले धान तथा गहुँ जस्ता अन्नबाली सजिलै र छिटो काट्न सक्ने सुविधा दिन्छ, जसले परम्परागत समय खर्चिलो र श्रमप्रधान कटाई प्रक्रियालाई सरल बनाउनेछ।
त्यस्तै, जिरो टिलर मेसिनमार्फत किसानहरूले खेत जोत्नु नपरी सीधै धानको बीउ छर्न सक्ने छन्। यसले रोपाइँका लागि पानी व्यवस्थापन, जनशक्ति परिचालनजस्ता जटिल काम हटाइ उत्पादन लागतमा उल्लेखनीय कटौती गर्ने अपेक्षा गरिएको छ।
मलचर मेसिनले भने धानको बाली काटिसकेपछि बाँकी रहेका बोटविरुवा तथा जरालाई जोत्नु नपरी त्यसमै गहुँको बीउ, मल र खाद छर्ने प्रविधि प्रदान गर्दछ। यसले खेतको जैविक अंशलाई प्राङ्गारिक मलमा परिणत गर्न सहयोग गर्नेछ भने झारपात नियन्त्रणमा समेत उपयोगी हुने कृषि शाखा प्रमुखले बताए।
नगर प्रमुख कारी राम यादवका अनुसार, यिनै यन्त्रहरूको न्यूनतम भाडादर तोक्न कार्यपालिकाको बैठकमार्फत आवश्यक निर्णय प्रक्रिया अघि बढाइएको छ। उहाँले भन्नुभयो, “किसानले यस्ता यन्त्रबाट अधिकतम लाभ उठाउन सकून् भनेर न्यूनतम भाडामा उपकरण उपलब्ध गराइनेछ। हाम्रो उद्देश्य उत्पादन लागत घटाउँदै कृषिमा प्रविधि आधारित संरचना विकास गर्नु हो।”
उहाँले थप स्पष्ट पार्नुभयो कि सबैला नगरपालिका कृषिमा आधुनिकीकरण र किसान सशक्तीकरणलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ। “अब किसानहरूले बिउ छर्नेदेखि फसल संकलनसम्मको सम्पूर्ण प्रक्रिया प्रविधिमैत्री तरिकाले छिटो, सस्तो र सरल ढंगमा गर्न सक्नेछन्,” नगर प्रमुख यादवले बताए।
स्थानीय कृषकहरूले पनि नगरपालिकाको यो प्रविधि-मैत्री पहलको स्वागत गरेका छन्। उनीहरूका अनुसार यस्तो सहयोगले कृषि कार्यमा नवीनता ल्याउने, श्रम कम गर्ने र कृषि व्यवसायलाई अझ लाभदायक बनाउने विश्वास लिएको छ।
सबैला नगरपालिकाको यो कार्यक्रमले कृषिमा आधुनिकीकरण ल्याउने, किसानलाई प्राविधिक रूपमा सक्षम बनाउने र दीर्घकालीन रूपमा आत्मनिर्भर कृषि प्रणालीको आधार निर्माण गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया