सैफुल्ला राइन
खोज तलास खबर, जनकपुरधाम ! – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार उनलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियार स्रोतका अनुसार कल्याणपुर नगरपालिकामा उपभोक्ता समितिमार्फत निर्माण गरिएको करिब २० लाख रुपैयाँ बराबरको नाला योजनामा मेयर साहले उपभोक्ता समितिसँग २० प्रतिशत अर्थात् ४ लाख रुपैयाँ कमिसन मागेका थिए। समितिले मागअनुसार रकम दिन नसक्ने बताएपछि मेयर साहले योजनाको भुक्तानी रोकिदिएका थिए।
स्रोतका अनुसार करिब एक सातासम्म भएको बार्गेनिङपछि मेयरले अन्ततः चेक काट्नु अघि कम्तीमा १ लाख रुपैयाँ नगद बुझाउनुपर्ने अडान राखेका थिए। विशेष सुराकीको आधारमा अख्तियारको टोलीले योजना अनुसार छापा मारेको थियो, र सोही क्रममा उनलाई घुस रकमसहित पक्राउ गरिएको हो।
हाल मेयर साह अख्तियारको नियन्त्रणमा रहेका छन् र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। आयोगले हाल देशभरि भ्रष्टाचारविरुद्ध कडा कदम चालेको सन्दर्भमा यो घटना जनप्रतिनिधिहरू पनि कानूनको दायराबाट मुक्त नरहेको प्रमाणका रूपमा हेरिएको छ।







प्रतिक्रिया