सुदूरपश्चिममा खेलकुदको ठुलो सम्भावना

खोज तलास खबर, जनकपुरधाम ! सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिममा खेलकुदको ठुलो सम्भावना रहेको बताएका छन् ।

संस्कार प्रीमियर लिगको   समापन समारोहलाई सम्बोधन गर्दै उनले   सुदूरपश्चिमको चिनारी क्रिकेटको माध्यमबाट पनि बढिरहेको बताएका थिए ।

सुदूरपश्चिममा जन्मिएका दीपेन्द्रसिंह ऐरी जस्ता खेलाडीहरू प्रदेशको मात्र नभई देशकै गौरव रहेको प्रदेश प्रमुख मियाँको भनाइ थियो ।

सीमित संरचना हुँदा पनि खेलकुदमा भइरहेको विकासको प्रशंसा गर्दै उनले फाप्ला क्रिकेट मैदान निर्माण भएपछि प्रदेशको विकासले ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे ।

संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको  आयोजनामा चैत ३० गते देखि सुरु भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ टोली सहभागी रहेका थिए ।

प्रतियोगिताको उपाधि नारायण स्पोर्ट क्लब कञ्चनपुरले जितेको छ ।

जितसँगै  क्लवले नगद १ लाख ११ हजार १११ सहित आकर्षक ट्रफि हात पारेको छ । उप विजेतामा बनेको यूथ अफ टीकापुरले ५५ हजार ५५५ नगद सहित ट्रफि प्राप्त गर्याे ।

मंगलबार सम्पन्न फाइनल खेलमा यूथ अफ टीकापुरलाई ५ विकेटले पराजित गर्दै  उपाधि हात पारेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको यूथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो ।

यूथ अफ टीकापुरका लागि सुदिप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो ।

टीकापुरलाई सस्तैमा रोक्न नारायणका नेहाल दास र सचिन भट्टले समान ३\३ विकेट लिए  ।

७९ रनको लक्ष्य  नारायण स्पोर्ट क्लवले १२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्याे । नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनको पारी खेले ।

बलिङ तर्फ यूथ अफ टीकापुरका सागर रावलले ३ विकेट लिए ।

प्रतियोगिताको वेस्ट ब्याट्स म्यान नारायण स्पोर्टका सुमित बुढा भए । त्यसैगरी वेस्ट बलर उत्तर त्रिसुलका अनुप छेडाल घोषित हुँदा संस्कार विद्याश्रमका कप्तान रावल  ईमर्जिङ प्लेयर बनेका छन् ।

कार्यक्रम समापन समारोहका कार्यक्रम संयोजक रामचन्द्र शाहीले पहिलो संस्करणको संस्कार क्रिकेट लिगले सुदूरपश्चिम प्रदेशको क्रिकेटलाई एक स्तरमाथि उठाएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार