कमला क्रिकेट लिग–२०८२ धनुषामा सुरु, १० टोलीको सहभागिता

खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको कमला नगरपालिका–९ दुवरकोट हथलेटवास्थित खेल मैदानमा शुक्रबारदेखि ‘कमला क्रिकेट लिग–२०८२’ सुरु भएको छ। नेपाली कांग्रेसका नेता सत्यनारायण यादवले एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गरेका हुन्।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता यादवले खेलकूदले युवाहरुलाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्ने बताए। “अनुशासन बिना खेल सम्भव हुँदैन,” उनले भने, “युवाहरूमा विशेष गरी क्रिकेटप्रति आकर्षण बढ्दो छ, यसलाई व्यावसायिकरूपमा लिएर अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकिन्छ।”

 

नेता यादवले पछिल्ला वर्षहरूमा नेपालमा खेलकूद गतिविधिहरू तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै खेल क्षेत्रमा लागेका युवाहरूका लागि अवसर नै अवसर रहेको बताए। “स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले युवालाई लागूपदार्थ लगायतका गलत बाटाबाट टाढा राखी सकारात्मक गतिविधितर्फ मोड्न सहयोग पुर्‍याउँछ,” उनले जोड दिए।

 

सो अवसरमा नेपाली कांग्रेस मधेश प्रदेशका सदस्य बजरंग यादवले खेललाई केवल मनोरञ्जनको रूपमा नलिएर, यसमा भविष्य खोज्नुपर्ने धारणा राखे। “राम्रो खेल प्रदर्शन गर्न सक्ने खेलाडीहरूले नाम र दाम दुवै आर्जन गर्न सक्छन्,” उनले भने।

 

कमला युवा सञ्जाल, धनुषाका अध्यक्ष बिमलेश यादवको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश सदस्य विरेन्द्र यादव, क्षेत्र नं. २ का क्षेत्रीय सभापति नविन गोहिवार, नगर उपप्रमुख शिला मण्डल, नगर सभापति शिवशंकर यादव, उपसभापति श्रीप्रसाद यादव, वडानं. ९ का पूर्व वडाध्यक्ष धर्मनाथ मण्डल, नेपाल शिक्षक संघ कमला नगरपालिकाका अध्यक्ष राजदेव मण्डललगायतको उपस्थिति रहेको थियो।

 

२९ असारसम्म चल्ने

 

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित सुरु भएको कमला क्रिकेट लिग असार २९ गतेसम्म सञ्चालन हुने छ। लिग चरणमा खेलाइने प्रतियोगितामा कमला नगरपालिकाका विभिन्न १० टोली सहभागी छन्।

 

प्रतियोगिताको विजेतालाई नगद २५ हजार रुपैयाँसहित ट्रफी र उपविजेतालाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार