रघुनाथपुरले जित्यो दोस्रो जन विकास कप खुला क्रिकेट प्रतियोगिता

खोज तलास खबर, जनकपुरधाम ! सबैला नगरपालिकामा सम्पन्न दोस्रो जन विकास कप खुला क्रिकेट प्रतियोगिताको उपाधि सबैला नगरपालिका–१२, रघुनाथपुरले हात पारेको छ।

 

मंगलवार सम्पन्न फाइनल खेलमा रघुनाथपुरले आयोजक जन विकास युवा क्लब, सबैला–१ लाई २० रनले पराजित गर्दै विजेता बन्न सफल भएको हो।

 

टस जितेर पहिले ब्याटिङ गरेको रघुनाथपुर टोलीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रनको योगफल खडा गर्दै आयोजक टिमलाई १४८ रनको लक्ष्य दिएको थियो। जवाफमा खेल्न उत्रिएको आयोजक जन विकास युवा क्लबको टोली १७ ओभरमै अलआउट हुँदै १२८ रनमै सिमित भयो। यससँगै रघुनाथपुरले २० रनको जितसहित प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखायो।

 

विजेता रघुनाथपुर टिमले उपाधिसहित नगद रु २५,०००, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता आयोजक जन विकास युवा क्लब सबैला–१ ले रु १५,००० नगद, कप, मेडल र प्रमाणपत्र हात पारेको छ।

 

तिहार तथा छठ पर्वको अवसरमा जन विकास युवा क्लबको आयोजनामा गत कार्तिक १ गतेदेखि श्री फकिरचन्द्र गामी उच्च मावि, बरकुर्वा मैदानमा सुरु भएको प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो।

 

फाइनल खेल तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि सबैला नगरपालिकाका नगर प्रमुख श्री कारीराम यादव रहनुभएको थियो। उहाँले विजेता र उपविजेता टोलीलाई नगद तथा ट्रफी प्रदान गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि रामबाल युवा क्लबका प्रतिनिधि अरविन्द राउत समेतको उपस्थिति थियो।

 

समापन समारोह क्लबका अध्यक्ष सुशिल कुमार राउतको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार