सैफुल्ला राइन
खोज तलास खबर, जनकपुरधाम ! नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय शनिबारदेखि जनकपुरधामको भानुचोकमा सञ्चालनमा आएको छ। भव्य समारोहबीच भंगाहा नगरपालिकाका मेयर सञ्जीव साहले रिबन काटी कार्यालयको उद्घाटन गरे।
प्रदेश अध्यक्ष श्याम बञ्जाराको अध्यक्षता तथा प्रमुख अतिथि मेयर साहको उपस्थितिमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय महासचिव रामप्रसाद दहाल, केन्द्रीय लेखा समिति सदस्य केसी लामिछाने, वरिष्ठ पत्रकार रामभरत साह, नेपाल प्रहरीका डीआईजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकाल, सल्लाहकार राजेश कर्ण, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, राजु विश्वकर्मा, धनुषा अध्यक्ष पुरन गुप्ता, सप्तरी अध्यक्ष श्रवणकुमार देव, बारा अध्यक्ष रमेश सुवेदी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा प्रदेश सदस्य साजिर मन्सूरले उपस्थित अतिथिहरूलाई फूलमाला र खादा लगाई स्वागत गरेका थिए। मधेश महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष अम्बिका दहालले स्वागत मन्तव्य दिएकी थिइन्।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रमुख अतिथि मेयर साहले देशको प्रत्येक राजनीतिक परिवर्तनमा पत्रकारहरूको अतुलनीय योगदान रहेको उल्लेख गर्दै पत्रकार संगठनको सुदृढीकरणका लागि सबै जनप्रतिनिधिलाई आवश्यक सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित र सञ्चार क्षेत्रको विकासमा नेपाल पत्रकार महासंघको भूमिकाको चर्चा गरेका थिए। अध्यक्ष श्याम बञ्जाराले नयाँ कार्यालय प्रदेशस्तरको सञ्चार क्षेत्र सुदृढ पार्ने तथा पत्रकारहरूको पेशागत हकहितको संरक्षण गर्ने महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।
सो अवसरमा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, सूचना प्रवाहको सुदृढीकरण तथा विविध पत्रकार हितका कार्यक्रमहरू आगामी दिनमा सञ्चालन गरिने जानकारी पनि दिइएको थियो।







प्रतिक्रिया