खोज तलास खबर, जनकपुरधाम ! सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्।
घटनामा ३६ वर्षीय लालु यादवको ज्यान गएको हो। प्रहरीको गोली लागेपछि यादवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक लालु यादव राजगढ–२ निवासी हुन् र उनी विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको बताइएको छ।
प्रहरीका अनुसार भारत सीमा नजिकको क्षेत्रमा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा सर्च अपरेशन सञ्चालन गरिएको थियो। सो क्रममा प्रहरी र स्थानीयबासीबीच झडप भएपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
तर मृतकका आफन्त र स्थानीयले भने प्रहरीको कथनमाथि प्रश्न उठाएका छन्। राजगढ–१ निवासी दीपेन्द्र यादवका अनुसार, “प्रहरीले लालुलाई पहिले बोलायो, सामान्य विवादपछि नियन्त्रणमा लिई खेतमा लगेर गोली हानेको हो। त्यहाँ कुनै झडप भएको थिएन।”
मृतकका ज्वाइँ संजीवनारायण यादवले लालु यादवले कानुनीरूपमा लाइसेन्स लिएर व्यवसाय गरिरहेको दाबी गर्दै भने, “निहत्था व्यक्तिलाई नियन्त्रणमा लिएर गोली चलाउनु अमानवीय हो। दोषीमाथि कडा कारबाही हुनु पर्छ।”
घटनापछि आक्रोशित स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले निष्पक्ष छानबिन र दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेका छन्।
प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरिएको जनाएको छ। भारतको सीमासँग सटिएको उक्त क्षेत्र तस्करीको संवेदनशील बिन्दु भएको भन्दै प्रहरीले निगरानी बढाइएको जनाएको छ।
यसबीच, जिल्ला प्रशासन कार्यालय, सुरक्षानिकाय, मानवअधिकारकर्मी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले घटनाप्रति चासो व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीहरूको संख्या बढाइएको छ भने स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा लिन पहल गरिरहेको छ।







प्रतिक्रिया