खोज तलास खबर, जनकपुरधाम !धनुषा जिल्लाको सबैला नगरपालिका–१३, रघुनाथपुरका शोभित पासवानको लामो समयदेखि उपचार अभावकै कारण बिहीबार निधन भएको छ। आर्थिक समस्याका कारण वर्षौँदेखि बिरामी अवस्थामा ओछ्यानमै थला परेका उनी अन्ततः आफ्नै घरमै ज्यान गुमाउन बाध्य भए।
स्वास्थ्य समस्याबाट ग्रस्त रहेका पासवानले विगतमा केही पटक सहयोगको अपील गरेका थिए। तर, पर्याप्त सहयोग जुट्न नसक्दा समयमै उपचार सम्भव भएन। आर्थिक अभावका कारण अस्पताल जान पनि नसक्ने अवस्थामा रहेका उनी घरमै सामान्य घरेलु उपचारमा निर्भर रहँदै आएका थिए।
शोभित पासवानको परिवारले उपचारका लागि सरकारी तथा गैरसरकारी निकायहरूसँग समेत सम्पर्क गर्ने प्रयास गरेको भए पनि अपेक्षित सहयोग जुट्न नसकेको बताइएको छ। समाजका कमजोर वर्गको आवाज राज्यले सुन्न नसकेको यो घटनाले फेरि एक पटक गरिबी र स्वास्थ्य सेवामा पहुँच अभावको गम्भीर यथार्थ उजागर गरेको छ।
स्थानीयहरूका अनुसार शोभित निकै मेहनती र सहज स्वभावका व्यक्ति थिए। उनको निधनले गाउँमा शोकको वातावरण छ।







प्रतिक्रिया