खोज तलास खबर, जनकपुर धाम ! जनकपुर उपमहानगरपालिका अन्तर्गत सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीले गोली प्रहार गर्दा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्।
बिलबिजक विना सुनचाँदीको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले सोनारपट्टीमा छापा मारेको थियो। सो क्रममा स्थानीय व्यवसायीहरूसँग विवाद चर्किएपछि स्थिति तनावपूर्ण बनेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार, छापा मार्ने क्रममा केही व्यवसायीहरूले अवरोध गर्न खोजेपछि भिड बढेको र भीड नियन्त्रणका लागि प्रहरीलाई गोली चलाउनुपरेको थियो। भिडलाई तितरबितर पार्न चलाइएको गोलीको छर्राले संघ अध्यक्ष भण्डारी घाइते भएका हुन्। उनी अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्।
घटनास्थलमा कति राउन्ड गोली प्रहार गरिएको हो भन्नेबारे जिल्ला प्रहरी कार्यालय धनुषाले छानबिन भइरहेको जनाएको छ।
उक्त घटनापछि स्थानीय व्यापारीहरू आक्रोशित बनेका छन् भने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। व्यवसायीहरूले प्रहरी प्रशासनमाथि ज्यादती गरेको आरोप लगाएका छन्।
जनकपुर उद्योग वाणिज्य संघसहित विभिन्न व्यापारिक संघसंस्थाहरूले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।







प्रतिक्रिया