इजरायलमा विपिन जोशीलाई श्रद्धाञ्जली, शव भोलि नेपाल ल्याइँदै

खोज तलास खबर, जनकपुरधाम ! तेल अवीव,इजरायलमा हमासको आक्रमणमा परेर अपहरणपछि ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न एक समारोहको आयोजना गरिएको छ। इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार आयोजित कार्यक्रममा इजरायलस्थित नेपाली समुदाय भावविह्वल हुँदै सहभागी भएका छन्।

 

श्रद्धाञ्जली सभामा नेपालीहरूको उपस्थितिसँगै इजरायली अधिकारीहरू तथा नागरिकहरू समेत सहभागी थिए। जोशीको शव राखिएको कफिनमा नेपाली राष्ट्रिय झण्डा ओढाइएको थियो। सहभागीहरूले पुष्पगुच्छा तथा खादा अर्पण गरी दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

 

इजरायली विदेश मन्त्रालयको समन्वयमा आयोजित श्रद्धाञ्जली सभापछि जोशीको शव नेपाल पठाइने तयारी भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उनको शव भोलि सोमबार फ्लाई दुबई एयरलाइन्समार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं ल्याइनेछ। विमान सोमबार दिउँसो काठमाडौं अवतरण गर्ने तालिका रहेको जनाइएको छ।

 

जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमा रहने तयारी भएको स्रोतले जनाएको छ।

 

२०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा अध्ययनका लागि इजरायल पुगेका जोशीलाई बन्धक बनाइएको थियो। त्यसयता उनी सम्पर्कविहीन रहँदै आइरहेका थिए। गत असोज २७ गते इजरायली अधिकारीहरूले डीएनए परीक्षण र फरेन्सिक अनुसन्धानपछि उनको मृत्यु पुष्टि गरेका थिए।

 

युद्धविराम सम्झौताअन्तर्गत बन्दी साटासाट गर्ने क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। फरेन्सिक परीक्षणअनुसार अपहरण भएताकै समयमा उनको मृत्यु भइसकेको थियो।

 

पढ्दै र कमाउँदै उज्यालो भविष्यको सपना बोकेर इजरायल पुगेका विपिन जोशीको निधनले सम्पूर्ण नेपाली समुदाय शोकमा डुबेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार