खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको शहिदनगर नगरपालिकाभित्र तिहार र छठ पर्वका अवसरमा अश्लील गीत र चर्को ध्वनी प्रदूषण रोक्न स्थानीय युवाहरूले प्रशासनसँग माग गरेका छन्।
आईतबार शहिदनगर युवा मञ्चका अगुवाहरू ईलाका प्रशासन कार्यालय, यदुकूहा पुगेर अश्लील गीत तथा चर्को साउण्ड सिस्टम प्रयोगमा रोक लगाउन माग गर्दै प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन्।
मञ्चका अगुवा लालबाबु मण्डलको नेतृत्वमा गएको टोलीमा इन्जिनियर नरेश यादव, राकेश यादव, अन्मोल भण्डारी, झगरु यादव लगायतको उपस्थिति रहेको थियो। उनीहरूले तिहार र छठ जस्ता पवित्र चाडपर्वमा सांस्कृतिक विकृति निम्त्याउने अश्लील गीत तथा अत्यधिक ध्वनीले समाजमा गलत सन्देश जाने भन्दै नियन्त्रण गर्न आग्रह गरेका छन्।
ज्ञापन पत्रमार्फत युवाहरूले नगरभित्र सार्वजनिक स्थानहरूमा चर्को लाउडस्पीकर प्रयोगमा रोक लगाउन, अश्लील गीत बजाउने प्रवृत्तिमा निगरानी राख्न तथा चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई कडा बनाउन माग गरेका छन्।
स्थानीय प्रशासनले ज्ञापन पत्रबारे सकारात्मक ध्यान दिने आश्वासन दिएको जनाइएको छ।





प्रतिक्रिया