खोज तलास खबर, जनकपुर धाम ! लगातार दोस्रो जितसहित नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक तीन खेलको टी–२० अन्तर्राष्ट्रिय (टी-२०आई) सिरिज आफ्नो पक्षमा पारेको छ।
सोमबार साँझ शारजाह क्रिकेट रंगशालामा सम्पन्न दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले हराउँदै सिरिज २–० ले जितेको हो।
१७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७ ओभर १ बलमा मात्र ८३ रनमै समेटियो। नेपालको बलिङतर्फ आदिल आलम चम्किए, जसले ४ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिएका थिए। लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका आदिलले उत्कृष्ट पुनरागमन गरेका छन्।
त्यस्तै, कुशल भुर्तेलले ३ विकेट लिए भने करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट हात पारे। वेस्ट इन्डिजका तर्फबाट मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बनाए, जसमा जेसोन होल्डरले सर्वाधिक २१ रन जोडे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले अविजित रहँदै ४७ बलमा ६८ रनको संयमी इनिङ्स खेले भने सन्दीप जोराले आक्रामक प्रदर्शन गर्दै ३९ बलमा ६३ रन बनाए।
अन्य ब्याटरमध्ये कुशल भुर्तेल २, कप्तान रोहित पौडेल ३, कुशल मल्ल ७, आदिल आलम ११ र गुल्सन झा ६ रनमा आउट भए।
वेस्ट इन्डिजका बलरमध्ये काइल मेयर्स र अकिल होसेनले २–२ विकेट लिए भने जेडियाह ब्लेड्सले १ विकेट हात पारे।
यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो।
नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम खेल आउँदो मंगलबार हुनेछ।







प्रतिक्रिया