
सैफुल्लाह राइन !
खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको कमला नगरपालिका–५ स्थित लक्कर पुरानो टोलमा हिजो दिउँसो करिब २ बजे अचानक लागेको भीषण आगलागीमा ९ वटा घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीको कारण अझै यकिन हुन सकेको छैन, तर स्थानियहरूका अनुसार छोटो सर्किट वा चुलोबाट सल्किएको आगो फैलिएको हुन सक्ने अनुमान गरिएको छ।
घटनास्थलमा पुगेका स्थानीयबासी र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि त्यसबेलासम्म धेरै घरहरू भष्मिभूत भइसकेका थिए। आगलागीबाट पीडित परिवारहरूको लत्ताकपडा, खाद्यान्न, नगद, कागजातलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ।
पीडितहरू अहिले खुला आकाशमुनि बस्न बाध्य छन्। तात्कालिक राहत र सहयोगको खाँचो रहेकोले स्थानीय तह, संघसंस्था तथा इच्छुक दाताहरूलाई सहयोगका लागि आग्रह गरिएको छ।
कमला नगरपालिकाले प्रारम्भिक राहतको व्यवस्था गरिरहेको भए पनि पूर्ण पुनःस्थापनाका लागि थप सहयोग अपरिहार्य देखिन्छ।
प्रतिक्रिया