बिहेमा खाजा खाँदा सयभन्दा बढी जन्ती बिरामी

सैफुल्ला राइन

खोज तलास खबर, जनकपुरधाम !धनुषाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा एक विवाह कार्यक्रममा खाजा खाँदा सयभन्दा बढी जन्ती बिरामी परेका छन्।

 

जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीबाट गएका जन्तीहरू स्वयम्बर सकेर खाजा खाँदा बुनियाँ, रसबरीलगायतका मिठाइ खाएका थिए। खाजा खाएको केही समयपछि उनीहरूमा पेट दुख्ने, बान्ता हुने, र कमजोरी महसुस हुने लक्षण देखिन थालेको जनाइएको छ।

 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. उमेश यादवका अनुसार खाद्यवस्तुमा विषादी वा संक्रमणको आशंका गरिएको छ। “घटना लगत्तै बिरामी परेका अधिकांशलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्था लगिएको छ,” यादवले जानकारी दिए।

 

बिहेको खाजामा प्रयोग भएको खाद्यवस्तु परीक्षणका लागि नमूना संकलन गरिँदैछ भने घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको जनाइएको छ।

 

यस घटनाले विवाह तथा सार्वजनिक भोजमा स्वास्थ्य सुरक्षा र खानपानको गुणस्तरप्रति सतर्कता आवश्यक रहेको सन्देश दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार