
खोज तलास खबर, जनकपुरधाम ! सप्तरी, सुरुङ्गा न.पा.–१० थल्हा — माता राजदेवी पूजाको पावन अवसरमा थल्हा स्थित बलान नदीको किनारमा एक भव्य बैलगाडा दौड प्रतियोगिता सम्पन्न भएको छ। परम्परागत कृषक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा सप्तरी जिल्लाका विभिन्न स्थानबाट किसानहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
प्रतियोगितामा प्रथम स्थान शिव नारायण यादवको बैलगाडाले प्राप्त गरेको छ। यादव बलान बिहुल गाउँपालिका–४, बेल्ही निवासी हुन्। दोस्रो स्थान इन्द्र देव यादवको बैलगाडाले हासिल गरेको छ, जो बलान विहुल गाउँपालिका–१, मल्हनियाँका बासिन्दा हुन्। तेस्रो स्थान भने बोदेबर्साइन नगरपालिका–१, बरहाका खटर रान यादवले जितेका छन्।
विजेता किसानहरूलाई आयोजक समितिद्वारा स–सम्मान पुरस्कार प्रदान गरिएको थल्हा समाजले जानकारी दिएको छ। कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो भने यस किसिमका परम्परागत प्रतियोगिताले समुदायमा आपसी मेलमिलाप र सांस्कृतिक एकता अभिवृद्धि गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
प्रतिक्रिया