
सैफुल्ला राइन
खोज तलास खबर, जनकपुरधाम ! सबैला नगरपालिकाले स्थानीय व्यवसायहरूलाई औपचारिक प्रणालीमा ल्याउने उद्देश्यले सञ्चालन गरेको व्यवसाय दर्ता अभियान अन्तर्गत भठिहन बजारमा सोमवार (२०८२ जेष्ठ ७ गते) एकदिने अभियान सम्पन्न भएको छ।
अभियान अन्तर्गत नगरपालिकाले व्यवसायीहरूलाई सहज रुपमा दर्ता प्रक्रियामा सहभागी गराउँदै उनीहरूलाई कानुनी सुरक्षा, बैंकिङ पहुँच, सरकारी सहुलियत तथा अनुदानको लाभ लिन सक्ने अवस्था तयार पार्ने उद्देश्य राखेको छ।
भठिहन बजारमा आयोजित कार्यक्रममा स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। धेरै व्यवसायीहरूले पहिलो पटक आफ्नो व्यवसाय कानुनी रूपमा दर्ता गराएका थिए। अभियानमा सहभागी नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र उद्योग शाखाका प्रतिनिधिहरूले व्यवसाय दर्ताको महत्वबारे जानकारी गराउँदै व्यवसायीहरूलाई आवश्यक परामर्श तथा सहयोग पनि प्रदान गरेका थिए।
सबैला नगरपालिकाका प्रमुख ले भने, “स्थानीय आर्थिक गतिविधिलाई संस्थागत बनाउने र नगरको समग्र आर्थिक विकासमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो। यस अभियानले व्यवसायीहरूलाई कानुनी रूपले सुरक्षित बनाउने मात्र होइन, उनीहरूका लागि नयाँ अवसर पनि खोल्नेछ।”
नगरपालिकाले आगामी दिनहरूमा अन्य वडाहरूमा पनि यस्ता अभियान निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिएको छ।
प्रतिक्रिया