प्रधानमन्त्री ओलीद्वारा महोत्तरीको रघुनाथपुर–सुन्दरपुर सडक कालोपत्रेको शिलान्यास

खोज तलास खबर, जनकपुरधाम !  प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लामा पर्ने रघुनाथपुर–सुन्दरपुर सडक खण्डको कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्नुभएको छ।

 

प्रधानमन्त्री ओलीले आज महोत्तरीको हुलाकी राजमार्गअन्तर्गत पर्ने रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको ८.३८४ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको औपचारिक शिलान्यास गर्नुभएको हो।

 

यस सडक निर्माणका लागि विश्व बैंकको अनुदान ऋणमार्फत ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपैयाँको बजेट स्वीकृत गरिएकोमा सार्वजनिक टेन्डर प्रक्रियामार्फत ढुकुछु निर्माण कम्पनी प्रा.लि. लाई भ्याटसहित १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा निर्माण कार्यको जिम्मा दिइएको हो।

 

निर्माण सम्झौता अनुसार, २०७८ साल चैत्र ११ गते सम्ममा सडक निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।

 

पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णका अनुसार यो योजना मधेश प्रदेश सरकारको पहलमा अघि बढाइएको हो, जसअन्तर्गत प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ।

 

सडक निर्माणका बारेमा जानकारी दिँदै मधेश प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सरोज कुमार यादवले यो योजना मधेश प्रदेशको समग्र पूर्वाधार विकासका लागि महत्वपूर्ण हुने बताए।

 

सडक निर्माणपछि यस क्षेत्रका बासिन्दाले यातायात, व्यापार, शिक्षा तथा स्वास्थ्य सेवामा उल्लेख्य सुधारको अनुभव गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार