खोज तलास खबर, जनकपुरधाम ! जनकपुर, — धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले मंगलबार बिहान बजार बन्द गर्दै विरोध प्रदर्शन गरेको छ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले कुटपिट गरेको आरोप लगाउँदै व्यापारीहरूले बिहान ९ देखि १२ बजेसम्म बजार बन्द गरी प्रदर्शन गरेका हुन्। व्यापारीहरूले नगर परिक्रमा गर्दै नारा जुलुस पनि निकालेका थिए।
यसअघि व्यापारीहरूले कालो झण्डा र कालोपट्टी बाँधेर पहिलो चरणको विरोध कार्यक्रम सञ्चालन गरेका थिए। विवाद त्यतिबेला सुरु भएको थियो जब प्रहरीले सुनचाँदी बजारमा छापा मार्दै करिब ७ किलो चाँदी नियन्त्रणमा लिएको थियो।
व्यापारीहरूले प्रहरीले ‘लुटपाट र दमन’ गरेको आरोप लगाउँदै घटनाबारे निष्पक्ष छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।







प्रतिक्रिया