खोज तलास खबर, जनकपुरधाम ! सप्तरी जिल्ला तिरहुत गाउँपालिका–५ लोहरजराकी अनुशा सदा, जो १२ कक्षा उत्तीर्ण गरेकी छिन्, आर्थिक अभावका कारण आफ्नो अध्ययन र भविष्यप्रति आशा हराउँदै घरमै बस्नु पर्ने बाध्यतामा थिइन्। तर, सामाजिक सञ्जालमार्फत उनका संघर्ष र पीडाको कथा सार्वजनिक भएपछि परिस्थितिले नयाँ मोड लिएको छ।
सञ्चारकर्मीहरूले अनुशाको कथा र तस्बिर सार्वजनिक गरेपछि, उक्त घटनाले देश–विदेशका समाजसेवीहरूलाई छोयो। त्यसै क्रममा सवरी संकल्प समाज भित्रका सदस्यहरूले आपसी छलफल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमको आकस्मिक अनलाइन बैठकमार्फत सहयोग अभियान सुरू गरे।
उक्त अभियानअन्तर्गत सवरी संकल्प समाजले मिति २०८२ साल कार्तिक २२ गते अनुशा सदालाई हिरो कम्पनीको एक थान साइकिल हस्तान्तरण गरेको छ। समाजका प्रतिनिधिहरूका अनुसार यो साइकिल अनुशाको दैनिक आवागमन र आगामी अध्ययनमा सहायक हुने विश्वास गरिएको छ।
समाजका सदस्यहरूले भने, “हामी केवल एक साइकिल हस्तान्तरण गरेका होइनौं, एउटा युवतीको सपना पुनः जागृत गर्ने प्रयास गरेका हौं।”
अनुशाले सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै भनिन्, “मलाई अब लाग्छ कि म पनि अघि बढ्न सक्छु, पढ्न सक्छु, र आफ्नो गाउँको नाम उज्यालो पार्न सक्छु।”
यस घटनाले ग्रामीण क्षेत्रका युवतीहरूलाई शिक्षाप्रतिको आशा र आत्मविश्वास जगाउने काम गरेको स्थानीय बासिन्दाहरूको भनाइ छ।







प्रतिक्रिया