खोज तलास खबर, जनकपुरधाम ! मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रदेशिक अस्पताल जनकपुरको प्रस्तुति वार्ड पछाडि रहेको लुन्ड्री कक्षमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–७, जिरोमाइल निवासी ४० वर्षीय भोला मेस्तरको शव आइतबार बिहान अस्पतालकै लुन्ड्री कक्षमा झुन्डिएको अवस्थामा फेला परेको हो। मृतक मेस्तर सोही अस्पतालमा कार्यरत कर्मचारी रहेको अस्पताल स्रोतले पुष्टि गरेको छ।
धनुषा जिल्लाको सबैला नगरपालिका–१, पटेर्वाका मुकेश यादवले बिहान लुन्ड्रीमा काम गर्न गएका बेला फलामको पाइपमा प्लास्टिकको डोरीको सहायताले झुन्डिएको अवस्थामा मेस्तरलाई देखेका थिए। तत्कालनै उनले प्रहरीलाई खबर गरेका थिए, जसपछि घटना सार्वजनिक भएको हो।
घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि मात्र मृत्युको कारणबारे स्पष्ट हुन सक्ने प्रहरीले जनाएको छ। घटनालाई लिएर अस्पताल परिसरमा शोकको वातावरण छ।







प्रतिक्रिया