सर्वोच्चको आदेशविरुद्ध जसपा नेपालद्वारा गौरमा विरोध प्रदर्शन

चन्दन कूमार महतो ,रौतहट

 

खोज तलास खबर, जनकपुरधाम ! सर्वोच्च अदालतको आदेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ। जसपाले गौर हत्याकाण्डलाई राजनीतिक घटनाक्रम र तत्कालीन माओवादीको हिंसात्मक गतिविधिको उपज भन्दै अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप लगाएको छ।

 

गौरको बिपी चौकबाट शुरु भएको प्रदर्शन नगर परिक्रमा गर्दै अदालत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले “उपेन्द्र यादवमाथि गरिएको षड्यन्त्र खारेज गर”, “राजनीतिक मुद्दालाई कानुनी रंग नदेऊ”, “सर्वोच्चको आदेश लाई सम्मान गर्दै ” भन्ने जस्ता नाराबाजी गरेका थिए।

 

जसपा नेपाल रौतहट जिल्ला कार्यसमितिले आयोजना गरेको सो कार्यक्रममा जिल्ला अध्यक्ष राजिव रंजन उर्फ राजु यादवले बोल्दै गौर घटनाको मुख्य योजनाकार प्रभु साह भएको दाबी गरे। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा विभिन्न भातृ संगठनका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले सरकारको इसारामा सर्वोच्च अदालतमार्फत राजनीतिक मुद्दा खोलिएको दाबी गर्दै अदालतले न्यायको साटो अन्यायलाई प्रश्रय दिएको आरोप समेत लगाएका थिए।

 

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्याकाण्डको छानबिनलाई अघि बढाउन रौतहट प्रहरीले अनुसन्धान अगाडि बढाउन परमादेश दिएको थियो। उक्त आदेशपछि जसपा नेपाल आक्रोशित बनेको हो।

 

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो। उक्त घटना त्यसयता राजनीतिक विवाद र आरोप–प्रत्यारोपको केन्द्रमा रहँदै आएको छ।

 

जसपाले अध्यक्ष यादवको घटनासँग कुनै संलग्नता नरहेको स्पष्ट पार्दै यसलाई राजनीतिक प्रतिशोधपूर्ण रूपमा मुद्दा खोलिएको भन्दै आपत्ति जनाएको छ। पार्टीले लोकतन्त्र र न्यायपालिकामाथि प्रत्यक्ष प्रहार भएको आरोप लगाउँदै आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार