स्थानीय बासिन्दालाई सहज आवागमनको सुविधा
खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सबैला नगरपालिका–११ ईनर्वा–सबैला सडक खण्डमा रहेको बलुवा नदिमा स्थानीय पहलमा काठेपुल निर्माण सम्पन्न भएको छ। वडाध्यक्ष तथा समाजसेवी इन्जिनियर सरोज यादवको अगुवाइमा निर्माण गरिएको उक्त पुलले स्थानीय बासिन्दालाई सहज यात्रा गर्न ठूलो सुविधा पुर्याउने विश्वास गरिएको छ।
वडाध्यक्ष यादवले स्थानीय जनताको लामो समयदेखि भइरहेको कठिनाइलाई देखेर व्यक्तिगत पहलमा श्रमदान गर्दै पुल निर्माणको जिम्मा लिएका हुन्। उनका अनुसार ईनर्वादेखि सबैलातर्फ जान यो मार्ग सबैभन्दा छोटो दूरीको भए तापनि विगत ८ वर्षदेखि पक्की पुलको निर्माण अधुरो रहँदा स्थानीयहरू बाध्यतावश लामो बाटो प्रयोग गर्नुपर्ने स्थिति थियो।
“अब काठेपुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले छोटो दूरीको बाटो सहज रूपमा प्रयोग गर्न सक्नेछन्,” वडाध्यक्ष यादवले बताए। उक्त पुलबाट पैदल यात्रु र मोटरसाइकल दुवैलाई आवतजावत गर्न मिल्ने व्यवस्था गरिएको छ। साथै, आवागमनका लागि कुनै शुल्क नलिइने जानकारी उनले दिए।
काठेपुल निर्माणमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गर्दै वडाध्यक्ष यादवले सामूहिक श्रमदान र सहकार्यकै कारण आज पुलको सपना साकार भएको उल्लेख गरे। पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले वडाध्यक्ष यादवको खुलेर प्रशंसा गरेका छन्।
स्थानीय विकासको उदाहरणस्वरूप प्रस्तुत उक्त काठेपुल निर्माणले समुदायमा सकारात्मक ऊर्जा र नेतृत्वको प्रेरणा समेत प्रदान गरेको छ।







प्रतिक्रिया