प्रहरीको गोली लागेर वीरगञ्जका असहाव आलम ठकुराईको मृत्यु, परिवार र समुदाय शोकमा

खोज तलास खबर, जनकपुरधाम ! वीरगञ्ज महानगर–१२ का २२ वर्षे असहाव आलम ठकुराई गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर निधन हुनुभएको छ। दुई महिनाअघि मात्र भारतको विहार राज्यबाट रोक्सिता खातुनसँग वैवाहिक बन्धनमा बाँधिनुभएका ठकुराईको मृत्युले परिवार र वीरगञ्ज महानगर–१२ तथा–१३ का बासिन्दा स्तब्ध र शोकमग्न भएका छन्।

 

ग्लोबल बिजनेस कलेजबाट कक्षा १२ व्यवस्थापन सङ्कायमा उत्तीर्ण गरेपछि अध्ययन र रोजगारीका लागि काठमाडौँमा बस्दै आउनुभएका ठकुराई मङ्गलबार बिहान काठमाडौंको गोङ्गबु लैजाने क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभयो। उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो जहाँ उहाँको मृत्यु भएको परिवारले जनाएको छ।

 

ठकुराईका आमा नजला खातुन र श्रीमती रोक्सिता खातुन उनको अकस्मात निधनपछि मानसिक रूपमा अत्यन्तै पीडित र अचेत अवस्थामा रहेका छन्। आमा नजलाले छोरा र बुहारीको भविष्यको सवाल उठाउँदै प्रहरीको गोलीले छोरा किन मारेको हो भनेर प्रश्न गरिरहनुभएको छ। “मेरो छोरा श्रवणकुमार जस्तै थियो, भर्खरै बिहे गरेको, अहिले बुहारीको सिउँदो उजाडिएको छ,” उहाँले रुँदै भन्नुभयो।

 

ठकुराई वीरगञ्जका पाँच सन्तानमध्ये तेस्रो हुनुहुन्थ्यो। छिमेकी मनोज गुप्ताले उहाँको मिजासिलो स्वभावको चर्चा गर्दै भने, “असहाव निकै मृदुभाषी र सजिलै मिल्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँको निधनले हामी सबैलाई दुःख दिएको छ।”

 

ठकुराईका काका असराल आलम ठकुराईले “जेनजी आन्दोलनमा असहावको बलिदानले मुलुकमा नयाँ क्रान्तिको सुरुआत होस्” भन्दै भावुक अभिव्यक्ति व्यक्त गर्नुभयो।

 

वीरगञ्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले पनि ठकुराईको निधनले अपूरणीय क्षति पुगेको बताउँदै, “असहाव भाइ हाम्रो लागि एक आदर्श र असल छिमेकी थिए, उहाँको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ” भन्नुभयो।

 

शोकमा डुबेका मुर्लीवासीले शुक्रबार साँझ वीरगञ्जको प्रतिमाचोकमा मैनबत्ती बालेर असहाव आलम ठकुराईलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार