जनकपुरधाम उपमहानगर र भन्सार कार्यालयमा आगजनीको स्थलगत निरीक्षण, नेतृ जुली महतो लगायत नेताहरूको उपस्थितिमा संयुक्त अवलोकन

खोज तलास खबर, जनकपुरधाम !  हालै सम्पन्न जेनजी आन्दोलनको क्रममा जनकपुरधाममा जलाइएका उपमहानगरपालिका कार्यालय र भन्सार कार्यालयको निरीक्षण शनिबार नेकपा (एमाले) की नेतृ जुली महतो (महासेठ) सहित विभिन्न दलका नेताहरुले संयुक्त रुपमा गरेका छन्।

 

निरीक्षणका क्रममा नेतृ महतोले आन्दोलनको आडमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले घुसपैठ गरेर सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेको बताइन्। उनले सार्वजनिक सम्पत्तिको ध्वंसप्रति गहिरो दुःख व्यक्त गर्दै, आन्दोलनको नाममा यसरी सम्पत्ति जलाउनु कदापि स्वीकार्य नहुने स्पष्ट पारिन्।

 

यसअघि, आईतबार नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले समेत उक्त स्थानहरूको निरीक्षण गरेका थिए। निधिसहित निरीक्षणमा सहभागी नेताहरूले जनकपुरधामको विकासमा बाधा पुर्‍याउने गरी सार्वजनिक सम्पत्तिमा तोडफोड हुनु निन्दनीय रहेको बताए।

 

निरीक्षणमा सहभागी अन्य नेताहरूमा नेपाली काँग्रेसका पूर्व सांसद रामकृष्ण यादव (धनुषा निर्वाचन क्षेत्र नं. २) तथा मधेश प्रदेशसभा सांसद रामअशिष यादव पनि थिए। उनीहरूले संयुक्त रुपमा घटनाको स्थलगत अध्ययन गरी शान्तिपूर्ण आन्दोलनका नाममा हिंसात्मक गतिविधिहरू हुन नहुनेमा जोड दिएका थिए।

 

जनकपुरधामको भन्सार कार्यालय र उपमहानगरपालिका कार्यालयमा भएको आगजनीबाट महत्वपूर्ण कागजात, संरचना तथा उपकरणहरू नष्ट भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार