खोज तलास खबर, जनकपुरधाम !
धनुषा । हँसपुर नगरपालिकाका मेयर प्रदीप यादवको ब्रेन हेम्बरेजका कारण असामयिक निधन भएको छ। अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
जानकारी अनुसार मेयर यादवलाई शुक्रबार अचानक स्ट्रोक भई ब्रेन हेम्बरेज भएपछि तत्काल जनकपुरस्थित अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि अस्ट्रेलियाबाट आएका एक चिकित्सकसहितको टोलीले उनको उपचार गरेको थियो। स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको थियो।
शुक्रबार दिउँसो नै काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका यादवको चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद स्वास्थ्यमा सुधार आउन सकेन र अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो।
मेयर यादव नेपाली काँग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए। उनी नेपाली काँग्रेसका प्रदेश कोषाध्यक्षसमेत रहेका थिए। उनको निधनप्रति नेपाली काँग्रेससहित विभिन्न राजनीतिक दलका नेताहरू, जनप्रतिनिधि तथा कार्यकर्ताहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली तथा शोक सन्देशहरू आइरहेका छन्।
स्थानीय तहको विकास, सुशासन र जनसेवाका क्षेत्रमा सक्रिय मेयर यादव नगरपालिकाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा थालिएका विभिन्न पहलका कारण स्थानीयवासीबीच लोकप्रिय थिए। उनको असामयिक निधनले नगरपालिकाले एक अनुभवी, कर्मठ र जनप्रिय नेतृत्व गुमाएको प्रतिक्रिया स्थानीय बासिन्दाहरूले व्यक्त गरेका छन्।
मेयर यादवको निधनप्रति राजनीतिक दलका नेता, सामाजिक संघसंस्था तथा सर्वसाधारणले शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनको अन्त्येष्टि तथा शोक सभासम्बन्धी कार्यक्रमको जानकारी परिवार तथा नगरपालिकाले पछि सार्वजनिक गर्ने जनाएको छ।
मेयर यादवको निधनसँगै हँसपुर नगरपालिकामा शोकको वातावरण छाएको छ भने उनको अभाव तत्काल पूरा हुन नसक्ने स्थानीयको भनाइ छ।






प्रतिक्रिया